अन्तिम पैगम्बर हजरत मोहम्मदको १५०१औँ जन्मजयन्ती आज, देशभर विविध कार्यक्रम

nepalkuro.com

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

मुस्लिम समुदायले मोहम्मदलाई आफ्ना प्रमुख सन्देष्टा तथा मार्गदर्शकका रूपमा सम्मान गर्छ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो भने उहाँले जीवनको महत्वपूर्ण समय मदिनामा बिताउनुभएको थियो। उहाँको जन्म भएको ५३ वर्षपछि इस्लामिक पात्रो हिजरी संवत् सुरु भएको मानिन्छ। हाल हिजरी संवत् १४४८ चलिरहेको छ।

मक्का र मदिना इस्लाम धर्मावलम्बीका सबैभन्दा पवित्र तीर्थस्थलका रूपमा परिचित छन्। मुस्लिम समुदायको विश्वासअनुसार पैगम्बर मोहम्मदमाथि यही क्षेत्रमा पवित्र ग्रन्थ कुरानको अवतरण भएको थियो। यसअघि जेरुसेलमलाई इस्लाम धर्मावलम्बीको प्रमुख पवित्र स्थलका रूपमा विशेष महत्व दिइन्थ्यो।

इस्लाम धर्मावलम्बीहरू जीवनमा कम्तीमा एकपटक मक्का–मदिनाको हज यात्रा गर्ने चाहना राख्छन्। पैगम्बर मोहम्मदले इस्लाम धर्मको विकास तथा मानव समाजलाई नैतिकता, शान्ति, सद्भाव र भाइचाराको सन्देश दिन महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास गरिन्छ।

जन्मजयन्तीका अवसरमा उहाँका उपदेश र योगदानलाई स्मरण गर्दै आज विभिन्न स्थानमा ¥याली, सभा तथा धार्मिक कार्यक्रम आयोजना गरिँदैछ। काठमाडौँस्थित नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

प्रतिक्रिया