‘कान्छो आउँछ कि भनेर १० हजार पटक फोन गरेँ’, भोटेकोशी बाढीपछि अंन्शको परिवारमा १३ दिनदेखि छटपटी

nepalkuro.com

बुटवल– भदौ १० गते बिहान ८ः५० बजे बुटवलका १९ वर्षीय अंन्श गिरीले बाबु सविराम गिरीलाई फोन गरे। घरको हालखबर सोधे। करिब तीन मिनेट कुराकानी गरेपछि काममा जाने बेला भएको भन्दै फोन राखे। बेलुकी फेरि कुरा गर्ने वाचा गर्दै छुटेका अंन्शले त्यसपछि परिवारसँग फोनमा कुरा गर्न पाएनन्।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२ तामनगरस्थित राजपुरका अंन्श तीन दिनअघि मात्रै कामका लागि रसुवाको त्रिशूली थ्री बी जलविद्युत आयोजनामा पुगेका थिए। उनी काममा गएको ४५ मिनेटजति पछि रसुवाको भोटेकोशीमा ठूलो बाढी आएको खबर परिवारले पायो।

सामाजिक सञ्जालमा बाढीका भयावह तस्बिर र भिडियो देखेपछि बाबु सविरामको मनमा चिसो पस्यो। उनले तत्काल छोरालाई फोन गरे। पहिलोपटक सम्पर्क हुन सकेन। पटक–पटक फोन गर्दा पनि मोबाइलमा घण्टी गएन। केही समयपछि मोबाइल ‘स्विच अफ’ भन्न थाल्यो।

त्यसपछि सविरामले छोराको फोन लाग्छ कि भन्ने आशामा निरन्तर फोन गरिरहे। भदौ १० गतेदेखि सोमबार बिहानसम्म उनले हजारौँ पटक फोन गरेको बताए।

“कान्छोलाई भदौ १० गतेदेखि आजसम्म पनि कतै फोन लाग्छ कि भनेर रातदिन गरी दश हजार पटक हानेँ हुँला। अब त कान्छो आउँदैन होला भन्ने लाग्न थाल्यो। पहिलो घण्टीमै कल उठाएर ‘बाबा दर्शन गरेँ’ भन्ने मीठो स्वर पनि सुनिँदैन होला,” सविरामले भने।

अंन्श सम्पर्कविहीन भएपछि उनकी आमा सरस्वती गिरीको अवस्था पनि विक्षिप्त बनेको छ। १३ दिनदेखि आँखाबाट आँसु रोकिएको छैन।

“अंन्शलाई दुःख गरेर पढाएकी थिएँ। ‘म देशमै केही गरेर तपाईंहरूलाई सुखका साथ पाल्छु’ भन्थ्यो। ऊ हराएपछि भोकनिद्रा सबै हराएको छ,” सरस्वतीले भनिन्, “अझै सकुशल फर्कियोस् भन्दै भगवानसँग प्रार्थना गरेकी छु।”

तीन दिनअघि मात्रै पुगेका थिए रसुवा

अंन्श गत फागुन २८ गते कामका लागि रसुवा पुगेका थिए। चिलिमे जलविद्युत आयोजनामा काम गरेर उनी साउन २८ गते घर फर्किएका थिए। एक साता घर बसेपछि त्रिशूली थ्री बी आयोजनामा काम गर्न भदौ ७ गते मात्रै रसुवा पुगेका थिए।

तर, आयोजनामा पुगेको तीन दिनमै आएको भोटेकोशीको बाढीपछि उनी सम्पर्कविहीन भएका हुन्।

बाबु सविरामले दशैँमा घर फर्किने वाचा गरेर गएको छोरा अब फर्किने आशा कमजोर हुँदै गएको बताए।

“दशैँमा आउँछु भनेर गएको छोरा अब फर्किने आशा कम छ। बाढी आएपछिका १३ दिन १३ वर्षभन्दा लामा भए। देशमै काम सिकेर घरपरिवारको भविष्य बदल्छु भनेर निस्किएको छोरा आउने आशा कम भयो,” उनले भने।

अंन्श सबैसँग मिलनसार थिए। छिमेकी तथा साथी अनुज पुनसँगै हाइड्रोपावरको काम सिक्दै रोजगारी गर्न उनी त्रिशूली पुगेका थिए। अनुज पनि सोही बाढीपछि सम्पर्कविहीन छन्।

सानैदेखि लगनशील अंन्शले देशमै केही गर्ने सपना बोकेका थिए। उनले रम्भादेवी टेक्निकल कलेजबाट प्लस टु होटल म्यानेजमेन्ट (एचएम) पूरा गरेका थिए। त्यसपछि बुटवलस्थित कोरिया–नेपाल बहुप्राविधिक शिक्षालय (केएनआईटी) बाट तीनमहिने वेल्डिङ तालिम लिएर हाइड्रोपावरमा काम गर्न गएका थिए।

अस्पतालदेखि बेत्रावतीसम्म खोज्दा पनि भेटिएनन्

अंन्श बेपत्ता भएपछि उनको खोजीमा काका खेमु गिरी र मामा शिवु गिरी काठमाडौं हुँदै बेत्रावतीसम्म पुगे। उनीहरूले पोखरा, चितवन, काठमाडौं, नवलपरासीदेखि बुटवलसम्मका अस्पतालसमेत चहारे।

‘सास वा लास जे भए पनि भेटिन्छ’ भन्ने आशामा अस्पतालदेखि घटनास्थल आसपाससम्म पुगे पनि अंन्शको कुनै पत्तो लाग्न सकेन।

मामा शिवु गिरीका अनुसार नेपाली सेनासहित सम्बन्धित सबै निकायलाई खोजीका लागि अनुरोध गरिएको छ। तर, आफैँले बेत्रावतीभन्दा माथि पुगेर खोज्न नसकेपछि उनीहरू फर्किन बाध्य भएका छन्।

“शव नदेखिँदासम्म त आशा कसले मार्न सक्ला र? तर फर्किने सम्भावना निकै कम छ। के गर्ने, यस्तो विपत्ति कहिल्यै नआओस् भन्ने कामना गर्नुको विकल्प भएन,” उनले भने।

यता आमा सरस्वती भने छोरालाई गुमाइसकेको मान्न अझै तयार छैनन्।

“जन्म दिएको आमा हुँ, छोरा छैन होला भन्ने मनले मान्दैन। अझै पनि आउला भन्ने आशा मारेकी छैन,” उनले भनिन्।

गुल्मीको मालिका गाउँपालिका–अमरपुरबाट बसाइँसराइँ गरी बुटवलको तामनगर आएका गिरी परिवार मजदुरी गरेर जीविका चलाउँदै आएको छ। अंन्शका बाबु सविराम पिकअप जीप चलाउँदै आएका छन्। परिवारका लागि अंन्श आफ्नै देशमा सीप सिकेर भविष्य बदल्ने आशाका रूपमा थिए। तर, भोटेकोशीको बाढीपछि १३ दिनदेखि उनको परिवार त्यही आशा र पीडाको बीचमा छ।

प्रतिक्रिया