काठमाडौं– जलस्रोत तथा जलविज्ञान अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी, त्रिशूलीसहित आसपासका नदीमा आज पानीको सतह बढ्न सक्ने तथा आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ।
महाशाखाकी बाढीविद् सरस्वती विष्टले रसुवा र नुवाकोट हुँदै बहने नदीका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन्।
उनका अनुसार नेपाल–चीन सीमा क्षेत्र नजिकै ताल बनेको र उक्त ताल जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेकाले अर्को सूचना जारी नभएसम्म सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ। वर्षाको सम्भावना रहेकाले आज र भोलि ती जिल्लामा बाढीको जोखिम उच्च रहेको पनि उनले बताइन्। महाशाखाका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर आसपास भएर बहने नदी तथा खोलामा समेत आज पानीको सतह बढ्न सक्ने सम्भावना रहेको छ।
ती क्षेत्रमा रहेका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनार हुँदै यात्रा गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।