चिलिमे जलविद्युत आयोजनाको सुरुङमा ६ जना फसेको सूचना, उद्धारका लागि सांसद न्यौपाने घटनास्थलतर्फ
nepalkuro.com
२१ भदौ २०८३, आईतबार
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा इञ्जिनीयर श्रीराम न्यौपानेले चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसेको सूचना प्राप्त भएको बताएका छन् । यसअघि घटनास्थलमै रहेर उद्धारका गतिविधिबारे लाइभ अपडेट दिँदै आएका न्यौपानेले फसेकाहरूको उद्धारमा सहभागी हुन चिलिमेतर्फ जान लागेको बताएका हुन् ।
न्यौपानेले आइतबार सामाजिक सञ्जालमार्फत चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसेको सूचना प्राप्त भएको उल्लेख गर्दै उद्धार कार्यमा आफ्नो अनुभव र प्राविधिक ज्ञान कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा आवश्यक जानकारी लिने, सुझाव दिने तथा आवश्यकता परे प्रत्यक्ष रूपमा उद्धार कार्यमा खटिने बताएका छन् ।
यसैबीच, भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सुरुङमा फसेका तीन जनाको उद्धार गरिएको जनाइएको छ । त्यस्तै, बेत्रावतीमा बाढी तथा पहिरोका कारण पुरिएको घरबाट एक महिलाको समेत उद्धार गरिएको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसहितका सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् । सुरुङ तथा जोखिमयुक्त क्षेत्रमा फसेका व्यक्तिको उद्धारलाई प्राथमिकतामा राखिएको छ ।