रसुवा बाढीपीडितका लागि कांग्रेसद्वारा एक करोड रुपैयाँ सहयोग
nepalkuro.com
२२ भदौ २०८३, सोमबार
काठमाडौं– नेपाली कांग्रेसले रसुवा बाढीपीडितका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
कांग्रेसले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर प्रधानमन्त्री राहत कोषका लागि एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
सो क्रममा महामन्त्री पौडेलले कांग्रेस सभापति गगन थापाको नेतृत्वमा विज्ञहरूसँग परामर्श गर्ने, प्रभावित क्षेत्रको स्थलगत अध्ययन गर्ने तथा सरकारलाई दीर्घकालीन योजनाका विषयमा सुझाव दिने तयारी भइरहेको जानकारी दिए ।
प्रभावित क्षेत्रमा सहयोग पुर्याउन सांसद मोहन आचार्यको संयोजकत्वमा समिति गठन गरिएको उनले बताए । साथै, सुरुङभित्र फसेका व्यक्तिको यथार्थ अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न अर्थमन्त्रीमार्फत सरकारसँग माग गरिएको पौडेलले जानकारी दिए ।
बाढीपीडितका लागि तत्काल राहत, मध्यकालीन पुनरुत्थान तथा दीर्घकालीन पुनर्निर्माणको योजना बनाएर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा पौडेलले जोड दिए ।
उनले विपद् व्यवस्थापनमा सरकारको मात्रै क्षमता पर्याप्त नहुने भन्दै तीनै तहका सरकार, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय दातृ निकायको सहयोग लिने वातावरण बनाउनुपर्ने बताए ।