काठमाडौं– पूर्ण रूपमा नयाँ लिपमोटर B03X, चिनियाँ बजारमा A10 का रूपमा परिचित मोडल, चीनमै दोस्रो सर्वाधिक बिक्री हुने सवारी साधन बन्न सफल भएको छ। यस मोडलले अगस्ट महिनामा मात्रै ३० हजार ६५२ युनिट बिक्री गरेको छ।
योसँगै B03X लिपमोटरको इतिहासमै सबैभन्दा छिटो एक लाख युनिट बिक्री हुने गाडी बनेको छ। गत मार्च २६ मा औपचारिक रूपमा बजारमा आएको यो मोडलले मात्र १३५ दिनमै अर्थात् अगस्ट ७, २०२६ मा एक लाख युनिट बिक्रीको कोशेढुङ्गा पार गर्दै अटोमोबाइल उद्योगमा नयाँ कीर्तिमान कायम गरेको कम्पनीले जनाएको छ।
B03X को बढ्दो लोकप्रियताकै बलमा लिपमोटर लगातार दुई महिनासम्म एकै महिनामा एक लाखभन्दा बढी गाडी डेलिभरी गर्ने पहिलो चिनियाँ विद्युतीय सवारी स्टार्टअप बन्न पनि सफल भएको छ। यस मोडलको तीव्र सफलताको प्रमुख कारण पहुँचयोग्य ईभी सेग्मेन्टमा लक्जरीस्तरको प्रविधि र प्रिमियम सुविधाहरूको संयोजन रहेको बताइएको छ।
उत्कृष्ट प्रदर्शन र व्यावहारिकतालाई ध्यानमा राखेर निर्माण गरिएको B03X मा सेग्मेन्टकै अग्रणी १४५ किलोवाट मोटर, ५५ किलोवाट ब्याट्री र ५०५ किलोमिटरसम्मको CLTC ड्राइभिङ रेन्ज रहेको छ। साथै, यसमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न मात्र १६ मिनेट लाग्ने फास्ट चार्जिङ क्षमता रहेको छ।
B03X को इन्टेरियरमा डुअल हाई–परफर्मेन्स चिपसहितको फ्ल्यागसिप प्रोसेसिङ पावर रहेको छ। यसमा क्वालकम स्न्यापड्रैगन ८२९५पी ककपिट चिप समेत समावेश गरिएको छ। साथै, ५१० लिटरको फराकिलो बूट स्पेस रहेको छ, जसलाई पछाडिको सिट फोल्ड गर्दा एक हजार ६०५ लिटरसम्म विस्तार गर्न सकिन्छ।
मासेराती, अल्फा रोमियो र प्युजो जस्ता १४ अग्रणी ब्रान्डहरूको मूल अटोमोबाइल समूह स्टेलान्टिसको विश्वव्यापी साथ रहेको लिपमोटर चीनको नम्बर एक स्टार्टअप न्यू इनर्जी भेहिकल (एनईभी) ब्रान्ड रहेको कम्पनीको दाबी छ। कम्पनीले हालसम्म विश्वभर १७ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको जनाएको छ। जुलाई र अगस्ट गरी लगातार दुई महिनासम्म मासिक एक लाखभन्दा बढी युनिट बिक्री भएको थियो।
साथै, विश्वका ४५ भन्दा बढी देशमा फैलिएका दुई हजारभन्दा धेरै बिक्री तथा सेवा केन्द्रहरूको बृहत् सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकलाई भरपर्दो सेवा र पूर्ण निश्चिन्तता प्रदान गर्दै आएको जनाएको छ।