नागढुङ्गानजिकै पृथ्वी राजमार्ग भासियो, ठूला सवारी सुरुङमार्ग हुँदै सञ्चालन
nepalkuro.com
१७ भदौ २०८३, बुधबार
काठमाडौँ– पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गानजिकै पातले वनमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ।
सडक भासिएसँगै उक्त खण्डमा नियमित यातायात सञ्चालनमा अवरोध पुगेको हो। सडक विभागका सूचना अधिकारी शुभाञ्जन दाहालका अनुसार भासिएको सडकखण्डबाट हाल पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन र दुईपाङ्ग्रे सवारीसाधनलाई मात्र एकतर्फी रूपमा आवतजावत गर्न दिइएको छ।
अन्य सबै प्रकारका सवारीसाधनलाई भने वैकल्पिक रूपमा नागढुङ्गा सुरुङमार्ग हुँदै सञ्चालन गर्ने व्यवस्था मिलाइएको दाहालले जानकारी दिए।
सडक भासिएको स्थानको स्थलगत निरीक्षण तथा क्षतिको मूल्याङ्कन गर्न सडक विभागको प्राविधिक टोली कार्यस्थलमा खटिएको छ।
प्राविधिक टोलीले आवश्यक अध्ययन पूरा गरेपछि सडक मर्मतको काम अघि बढाइने विभागले जनाएको छ। मर्मत कार्य सकेर यातायात सेवा चाँडै पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको विभागको भनाइ छ।