कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारीलाई चिन्ता, तीन दिनदेखि सडकमै थन्किए गाडी

nepalkuro.com

कर्णाली– जुम्ला, मुगु र हुम्लामा उत्पादित स्याउ निर्यातको प्रमुख सिजन चलिरहेका बेला कर्णाली राजमार्ग अवरुद्ध हुँदा व्यापारी समस्यामा परेका छन्। अविरल वर्षासँगै जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो, ढुङ्गा र लेदो खस्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो।

स्याउले भरिएका दर्जनौँ गाडी तीन दिनदेखि सडकमा थन्किएका छन्। जुम्लाबाट सुर्खेत, नेपालगन्ज, बुटवल, चितवन, पोखरा, काठमाडौं, वीरगन्जलगायतका प्रमुख सहरतर्फ पठाइएका स्याउ बाटोमै रोकिएपछि व्यापारीलाई स्याउ कुहिने चिन्ता बढेको छ।

स्याउ व्यापारी मक्कर शाहीले शनिबारदेखि राजमार्गका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएपछि आफूहरू समस्यामा परेको बताउनुभयो। एक–दुई दिनमै सुर्खेत तथा नेपालगन्ज पुग्ने लक्ष्यसहित पठाइएका गाडी बाटोमै रोकिँदा व्यवसायमा घाटा हुने उहाँको भनाइ छ।

“सडक कहिले खुल्ने हो थाहा छैन। अझै तीन–चार दिनपछि मात्र बाटो खुल्छ भन्छन्। त्यतिञ्जेलसम्म स्याउ कुहिएर जाने हो कि भन्ने डर लागिरहेको छ,” उहाँले भन्नुभयो।

वर्षा, बाढी र पहिरोका कारण गत वर्ष करिब १० लाख रुपैयाँ घाटा व्यहोरेका स्याउ व्यापारी हस्तबहादुर रावतले यस वर्ष पनि उस्तै समस्या दोहोरिने चिन्ता व्यक्त गर्नुभयो। भरपर्दो सडक नहुँदासम्म स्याउ व्यापारीका समस्या समाधान नहुने भन्दै क्षति हुँदा राज्यका तर्फबाट राहतको व्यवस्था हुनुपर्ने उहाँको माग छ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार यस वर्ष जुम्लामा करिब १९ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको छ। त्यसमध्ये अहिलेसम्म करिब ५० प्रतिशत निर्यात भइसकेको छ।

पहिरोका कारण स्याउ बोकेका दर्जनौँ गाडी रोकिँदा व्यापारी मात्र नभई सिङ्गो जुम्लाले नै क्षति व्यहोर्नुपर्ने अवस्था आएको अधिकारीले बताउनुभयो।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार शनिबार राति ७ बजेदेखि कर्णाली राजमार्गअन्तर्गत गगने खोलामा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। आइतबार कालीकोटको पिली र एस मोडमा समेत पहिरो तथा ढुङ्गा खस्दा सडकमा ठूलो क्षति पुगेको उहाँले जानकारी दिनुभयो।

सडक खुलाउन आइतबार बिहान ५ बजेदेखि मेसिन तथा प्राविधिक टोली परिचालन गरिएको छ। लेदो, ढुङ्गा र चट्टानसहितको पहिरोले राजमार्गका विभिन्न स्थानमा क्षति पुर्‍याएकाले सडकको अवस्था जोखिमपूर्ण रहेको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख महताराले आधिकारिक सूचना जारी नभएसम्म उक्त सडकखण्डमा यात्रा नगर्न यात्रु तथा सर्वसाधारणलाई आग्रह गर्नुभएको छ। वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च हुने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो।

अवरुद्ध सडक सञ्चालन गराउन उच्च प्राथमिकताका साथ काम भइरहेको भए पनि आवागमन सहज हुन अझै करिब तीन दिन लाग्नसक्ने कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीका अनुसार सडक अवरुद्ध भएपछि जुम्ला, कालीकोट, मुगु र हुम्लाबाट सुर्खेततर्फ आउँदै गरेका सवारीसाधन रोकिएका छन्। त्यस्तै, सुर्खेतबाट माथिल्लो कर्णालीतर्फ गएका सवारीसाधन दैलेखको राकम, खिड्कीज्यूला र दही खोलालगायतका क्षेत्रमा रोकिएका छन्।

सडक अवरुद्ध भएपछि माथिल्लो कर्णालीबाट आएका स्याउ बोकेका गाडी तीन दिनदेखि सडकमै थन्किएका छन्। यसबाट स्याउ व्यापारीसँगै यात्रु तथा सर्वसाधारणसमेत प्रभावित भएका छन्।

प्रतिक्रिया