भोटेकोशी बाढीपीडितको आत्मसम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह

nepalkuro.com

काठमाडौं– समाज कल्याण परिषद्ले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका क्रममा पीडितको आत्मसम्मान, मर्यादा र गोपनीयताको सम्मान गर्न सामाजिक सङ्घसंस्था तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

परिषद्ले भदौ १० गते नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्दे खोलामा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा मानवीय सहयोगका काम भइरहेको जनाएको छ ।

राहत तथा मानवीय सामग्री वितरण गर्दा सम्बन्धित आचारसंहिता पूर्ण रूपमा पालना गर्न र पीडितको पीडा थपिने गरी उनीहरूको अनुमतिबिना फोटो तथा भिडियो नखिच्न परिषद्ले अनुरोध गरेको छ ।

त्यसैगरी, पीडितको अनुमति बिना व्यक्तिगत फोटो तथा भिडियो प्रकाशन वा प्रसारण नगर्न परिषद्ले आग्रह गरेको छ । धार्मिक वा व्यावसायिक प्रकृतिका फोटो, लोगो, संकेत तथा प्रचारात्मक सामग्रीसमेत पीडितलाई देखाएर वा उनीहरूको अनुमति बिना प्रयोग नगर्न परिषद्ले सम्बन्धित सङ्घसंस्था तथा सबै पक्षलाई अनुरोध गरेको हो ।

विपद्का समयमा मानवीय सहयोगका गतिविधि सञ्चालन गर्दा पीडितको सम्मान, मर्यादा र गोपनीयतालाई प्राथमिकतामा राख्नुपर्ने परिषद्ले जनाएको छ ।

परिषद्को वेबसाइटमार्फत समेत बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी आवश्यक सूचना सार्वजनिक गरिएको जनाइएको छ ।

प्रतिक्रिया