काठमाडौं– सोमबार देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको महाशाखाले जनाएको छ। यसको प्रभावले देशभर सामान्यतया बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान तथा कर्णालीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार सोमबार देशभर सामान्यतया बादल लाग्नेछ। हिमाली भू–भागका केही स्थान र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ