हर्मुज तनाव चर्किँदा तेलको मूल्य १०० डलरमाथि

nepalkuro.com

वाशिङ्टन डीसी– इरान र अमेरिकाबीचको तनाव थप चर्किँदै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ। इरानले हर्मुज जलमार्गबाट पार हुन खोज्ने एक दर्जनभन्दा बढी जहाजमाथि आक्रमण गरेको खबरपछि तेलको मूल्यमा उछाल आएको जनाइएको छ।

तेहरानले बुधबारदेखि तेल तथा ग्यास ढुवानीका लागि रणनीतिक मानिने हर्मुज जलमार्गमा आफ्नो पकड बलियो बनाउँदै जलमार्ग बाहिरको ‘नो–गो जोन’ क्षेत्र विस्तार गरेको छ। इरानले फेब्रुअरी २८ देखि अमेरिकासँग युद्ध सुरु भएयता उक्त क्षेत्रमा यातायात प्रतिबन्धित गर्दै आएको दाबी गरेको छ।

अन्तर्राष्ट्रिय बेन्चमार्क ‘ब्रेन्ट क्रुड’को मूल्य बिहीबार एशियाली कारोबारमा प्रतिब्यारेल १०१.२८ अमेरिकी डलर पुगेको थियो। जुलाईयता पहिलो पटक ब्रेन्टको मूल्य १०० डलरभन्दा माथि पुगेको हो।इरानको सरकारी मिडियाका अनुसार रिभोलुसनरी गार्ड्सले हर्मुज जलमार्ग पार गर्ने क्रममा रहेका दुई अमेरिकी जहाज, आठ तेल ट्याङ्कर तथा अन्य १० वटा जहाजमाथि आक्रमण गरेको थियो। उक्त घटनापछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको जनाइएको छ।

तेहरानमा अमेरिका–इजरायलको आक्रमणबाट द्वन्द्व सुरु भएको छ महिनाभन्दा बढी समयपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानसँगको युद्धमा जित हासिल गरेपछि तेलको मूल्य तत्काल घट्ने बताएका छन्।

हर्मुज जलमार्गको नाम ‘ट्रम्प स्ट्रेट’ राख्ने आफ्नो सुझाव दोहोर्‍याउँदै ट्रम्पले भने, “हामीले इरानसँगको युद्ध जितेपछि तेलको मूल्य घट्नेछ। हामी यसलाई जित्दैछौँ र हर्मुज स्ट्रेटलाई नियन्त्रण गर्छौं।”

इरानको शक्तिशाली रिभोलुसनरी गार्ड्सले बुधबार ओमानको खाडी र अरब सागरका केही भागलाई नयाँ प्रतिबन्धित क्षेत्रमा थपेपछि ट्रम्पको यस्तो टिप्पणी आएको हो। गार्ड्सका प्रवक्ता हुसेन मोहेबीले सरकारी टेलिभिजनसँग कुरा गर्दै निर्धारित समन्वयबिना कुनै जहाज उक्त क्षेत्रमा प्रवेश गरे प्रतिबन्धको अधीनमा पर्ने चेतावनी दिएका छन्।फेब्रुअरीमा युद्ध सुरु भएदेखि इरानले हर्मुज जलमार्गमाथि नियन्त्रणको दाबी गर्दै आएको छ। इरानले जलमार्ग प्रयोग गर्नुअघि जहाजहरूले अनुमति लिनुपर्ने र पारवहन शुल्क तिर्नुपर्ने दाबीसमेत गर्दै आएको जनाइएको छ।

ट्रम्पले इरान अब लामो समयसम्म लड्न नसक्ने दाबी गर्दै बुधबार नोभेम्बरमा हुने मध्यावधि चुनावपछि युद्ध अन्त्य हुने बताएका छन्। यद्यपि, वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै ट्रम्पका शीर्ष सल्लाहकारहरूले उनको कार्यकालको बाँकी दुई वर्षसम्म युद्ध जारी रहन सक्ने चेतावनी दिएको जनाएको छ।

यसैबीच, इरानी सेनाको वैचारिक शाखा रिभोलुसनरी गार्ड्सले अमेरिकी सेनाले पाँच इरानी तेल ट्याङ्कर नष्ट गरेको प्रतिक्रियामा जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको जनाएको छ। जोर्डनको सेनाले आफ्नो क्षेत्रमा प्रहार गरिएका १८ वटा क्षेप्यास्त्र खसालेको बताइएको छ।इरानको विदेश मन्त्रालयले आफ्ना तेल ट्याङ्करमाथि भएको आक्रमणलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि प्रत्यक्ष खतरा भन्दै निन्दा गरेको छ। मन्त्रालयले उक्त आक्रमणले क्षेत्रमा तनाव थप बढाउने चेतावनी दिएको छ।

इरानले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य सुविधालाई लक्षित गरी गरिएका आक्रमणलाई आत्मरक्षाको प्रयासका रूपमा व्याख्या गरेको छ। अमेरिकी सेनाले भने आफ्ना लडाकू विमानलाई लक्षित गरी भएको इरानी आक्रमणको जवाफ दिइरहेको जनाएको छ।

गार्ड्सले लेबनान र यमनसँग सम्बन्धित आफ्ना सर्तहरू वासिङ्टनले पूरा गरे युद्ध अन्त्य गर्न सकिने जनाएको छ। गार्ड्सका प्रवक्ता मोहेबीले लेबनानबाट इजरायली सेना फिर्ता हुनुपर्ने, यमनमाथिको नाकाबन्दी अन्त्य हुनुपर्ने, अमेरिकाले फ्रिज गरेको इरानको सम्पत्ति फुकुवा गर्नुपर्ने तथा इरानको आणविक र मिसाइल क्षमतामा कुनै हस्तक्षेप हुन नहुने बताएका छन्।यसैबीच, अमेरिकाले इरानमाथि आर्थिक दबाब बढाउन खोजिरहेका बेला अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का बोर्ड अफ गभर्नरहरूले बुधबार तेहरानमाथि दबाब दिने कूटनीतिक कदमका रूपमा इरानलाई आणविक प्रतिबद्धता उल्लंघन गरेको भन्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्मा पठाउने पक्षमा मतदान गरेका छन्।

उक्त प्रस्ताव २३–३ मतले पारित भएको बताइएको छ भने आठ सदस्य अनुपस्थित थिए। रुस, चीन र नाइजरले प्रस्तावको विपक्षमा मतदान गरेका थिए।

संयुक्त राष्ट्रसंघीय आणविक निगरानी निकायका लागि इरानी प्रतिनिधिले अमेरिकी दबाबमा उक्त प्रस्ताव पारित गरिएको दाबी गर्दै यसको कुनै आधार नभएको र यसले कुनै परिणाम नल्याउने बताएका छन्।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संयुक्त आक्रमणको उद्देश्य इरानी शासनलाई कमजोर बनाउनु रहेको दाबी गर्दै इरान ध्वस्त हुने अवस्थामा पुगेको बताएका छन्।

प्रतिक्रिया