म्याग्दीका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार
nepalkuro.com
१४ भदौ २०८३, आईतबार
म्याग्दी — मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जा बस्तीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत दुवै बस्तीमा विद्युत् विस्तारका लागि १०० केभीए क्षमताको ट्रान्सफर्मर जडान गरिएको हो।
राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै १३२ घरधुरी रहेको पन्थोक र ७२ घरधुरी रहेको जुग्जाका स्थानीय लाभान्वित भएका छन्। यसअघि पन्थोकमा गौडाखोला लघुजलविद्युत् परियोजना तथा जुग्जामा पेल्ट्रिक सेटमार्फत स्थानीय रूपमा विद्युत् उत्पादन गरी घरधुरीमा आपूर्ति हुँदै आएको थियो।
राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएपछि स्थानीयवासीले थप भरपर्दो र नियमित विद्युत् सेवा पाउने अपेक्षा गरिएको छ। यसबाट घरायसी प्रयोजनसँगै स्थानीय व्यवसाय, शिक्षा तथा अन्य आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने बताइएको छ।