डोजरले जमिन काटेपछि पहिरोको कहर, तारकेश्वरमा ५० घर प्रभावित; ५ घर उच्च जोखिममा

nepalkuro.com

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा गरिएको जमिन कटानपछि पहिरो जाँदा करिब ५० घर प्रभावित भएका छन्। पहिरोका कारण ४ देखि ५ घर प्रत्यक्ष रूपमा उच्च जोखिममा परेका छन् भने टोलको दैनिक आवतजावतसमेत प्रभावित भएको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार घर निर्माणका लागि डोजर प्रयोग गरी जमिन खनेपछि उक्त क्षेत्रमा पहिरोको समस्या सुरु भएको हो। करिब दुई वर्षदेखि जमिन खन्ने तथा घर निर्माणको काम भइरहेको भए पनि निर्माण कार्य निकै ढिलो गतिमा अघि बढेको उनीहरूको गुनासो छ।

निर्माणाधीन घरका कारण सडकमा माटो तथा बालुवा थुप्रिँदा स्थानीयलाई हिँडडुल गर्नसमेत कठिनाइ भएको बताइएको छ। निर्माणस्थलबाट निस्किएको माटो नियमित रूपमा नहटाउँदा र बाटो सफा नगरिँदा समस्या झन् बढ्दै गएको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार निर्माणाधीन घर किरण रिजालको हो। निर्माणका क्रममा आवश्यक सुरक्षा र सावधानी नअपनाइँदा टोलवासीले जोखिम तथा सास्ती भोग्नुपरेको उनीहरूको आरोप छ। उनीहरूले निर्माण पक्षलाई तत्काल सडकमा थुप्रिएको माटो हटाउन, बाटो व्यवस्थित बनाउन र पहिरो नियन्त्रणका लागि आवश्यक संरचना निर्माण गर्न आग्रह गरेका छन्।

पहिरोका कारण टोलका करिब ५० घर प्रभावित भए पनि ४ देखि ५ घर प्रत्यक्ष रूपमा उच्च जोखिममा रहेको स्थानीयले बताएका छन्। उनीहरूका अनुसार पहिरो जानुअघि उक्त क्षेत्रमा यस्तो समस्या थिएन। डोजर लगाएर जमिन काट्ने काम सुरु भएपछि जमिन भासिने र पहिरो जाने समस्या देखिन थालेको उनीहरूको दाबी छ।

समस्या समाधानका लागि स्थानीयले सम्बन्धित जनप्रतिनिधिलाई पटक–पटक जानकारी गराउँदै आएका छन्। स्थानीयका अनुसार वडाध्यक्षलाई पहिरो र सडकको अवस्थाबारे तस्बिर तथा भिडियोसहित जानकारी गराइए पनि हालसम्म ठोस पहल हुन सकेको छैन। उपप्रमुखबाट भने समस्या हेर्ने आश्वासन पाएको स्थानीयले बताएका छन्।

टोल सुधार समितिमार्फत पनि निर्माण पक्षसँग समस्या समाधानका विषयमा छलफल भइरहेको जनाइएको छ। स्थानीयले वर्षायाममा पहिरोको जोखिम अझ बढ्न सक्ने भन्दै तत्काल पहिरो नियन्त्रण, सडक सफाइ तथा सुरक्षित आवतजावतको व्यवस्था गर्न सम्बन्धित निकाय र निर्माण पक्षसँग माग गरेका छन्।

स्थानीयको मुख्य माग स्पष्ट छ— ढिलो हुनुअघि पहिरो नियन्त्रण गरियोस्, जोखिममा रहेका घर सुरक्षित बनाइयोस् र टोलवासीको आवतजावत सहज बनाइयोस्।

प्रतिक्रिया