जलवायु परिवर्तनको क्षतिपूर्ति अधिकारसहित माग्नुपर्छ : रास्वपा प्रवक्ता खरेल

nepalkuro.com

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण नेपालले गम्भीर क्षति व्यहोर्नुपरेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग अधिकारसहितको क्षतिपूर्ति माग गर्नुपर्ने बताएका छन्।

संसदीय समितिको छलफलमा बोल्दै खरेलले जलवायु परिवर्तनको प्रभाव नेपालमा निरन्तर बढिरहेको र आगामी दिनमा यसको जोखिम अझ गम्भीर बन्न सक्ने बताए। उनले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनका कारण बढ्दो जोखिमको प्रारम्भिक चेतावनीका रूपमा लिनुपर्ने धारणा राखे।

“जलवायु परिवर्तनको असर र भिक्टिम हामी हुनुपरिरहेको छ। यो जोखिम आगामी दिनमा बढ्दै जान्छ। भोटेकोशीको बाढी एउटा सुरुवाती चेतावनी मात्रै हो,” खरेलले भने, “अधिकारसहितको क्षतिपूर्ति नेपाललाई चाहिन्छ। यो अधिकारको खोजी अब हामीले विश्व मञ्चमा गर्नुपर्छ।”

खरेलले विपद्पछि अझै ठूलो सङ्ख्यामा मानिस बेपत्ता रहेको उल्लेख गर्दै उनीहरूमध्ये कतिपय जीवितै उद्धारको प्रतीक्षामा रहेको हुनसक्ने बताए।

“यो अवस्थामा दर्जनौँ मानिस अहिले पनि सायद जीवनको आसमा उद्धारको पर्खाइमा बसिरहेका छन्,” उनले भने।

उनका अनुसार विपद्पछि हालसम्म एक हजारभन्दा बढी शव फेला परिसकेका छन् भने तीमध्ये धेरैको अझै पहिचान हुन सकेको छैन। सरकारको नेतृत्वमा १२ हजारभन्दा बढी मानिसको उद्धार गर्न सफल भएको पनि उनले बताए।

रास्वपा प्रवक्ता खरेलले पछिल्लो विपद्लाई जलवायु परिवर्तनसँग जोडेर हेर्दै दीर्घकालीन रूपमा विपद् जोखिम न्यूनीकरणका लागि सरकारले प्रभावकारी योजना बनाउनुपर्नेमा जोड दिए।

उनले जलवायु परिवर्तनबाट बढी प्रभावित नेपालजस्ता मुलुकलाई अन्तर्राष्ट्रियस्तरबाट आवश्यक सहयोग तथा क्षतिपूर्ति उपलब्ध गराउन विश्व समुदायसमक्ष प्रभावकारी रूपमा पहल गर्नुपर्ने बताए। नेपालको जलवायु जोखिम र त्यसबाट भइरहेको क्षतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया