नेपालका लागि भारतले पठायो पाँचौँ सैन्य विमान, ५.५ टन औषधिसहित उद्धार टोली
nepalkuro.com
१७ भदौ २०८३, बुधबार
काठमाडौँ– छिमेकी मुलुक भारतले नेपालमा जारी खोज, उद्धार तथा राहत कार्यका लागि पाँचौँ सैन्य विमान पठाएको छ । भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन भारतले अत्यावश्यक सामग्रीसहित सैन्य विमान नेपाल पठाएको हो ।
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत भारतबाट राहत सामग्रीसहितको पाँचौँ विमान नेपालका लागि प्रस्थान गरेको जानकारी दिएका छन् ।
उनका अनुसार भारतीय वायुसेनाको उक्त विमानमा ११ जना विज्ञ सम्मिलित खोज तथा उद्धार टोली, अत्याधुनिक खोज तथा उद्धार उपकरण र ५.५ टन अत्यावश्यक औषधि पठाइएको छ ।
नेपालमा भोटेकोशीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेका बेला भारतले राहत तथा उद्धार सामग्रीको आपूर्ति बढाएको हो । भारतीय पक्षले नेपालमा आवश्यक पर्ने सामग्री तथा जनशक्ति उपलब्ध गराउने क्रमलाई निरन्तरता दिएको जनाएको छ ।
विमानमार्फत ल्याइएका राहत सामग्री तथा उद्धार टोलीलाई विमानस्थलबाट प्रभावित क्षेत्रसम्म पुर्याउन आवश्यक समन्वय भइरहेको छ । उद्धार टोलीले अत्याधुनिक उपकरणको प्रयोग गरी खोज तथा उद्धार कार्यमा सहयोग गर्ने जनाइएको छ ।
यसअघि पनि भारतले नेपालमा उद्धार टोली, राहत सामग्री तथा चिकित्सकीय टोली विभिन्न सैन्य विमानमार्फत पठाइसकेको छ ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, घाइतेको उपचार, शव व्यवस्थापन तथा राहत वितरणका लागि नेपाल सरकारसँग समन्वय गर्दै भारतले थप सहयोग उपलब्ध गराएको हो । पाँचौँ सैन्य विमानमार्फत आएको सहयोगले प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।