काठमाडौं– चीनको तिब्बत हुँदै रसुवागढी नाकाबाट भोटेकोसीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो विनाश भएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।
गोसाईंकुण्ड गाउँपालिकाका वडा नम्बर २, ३ र ५ मा मात्रै करिब ४० प्रतिशत मानिस सम्पर्कविहीन रहेको सम्बन्धित वडाध्यक्ष मिङमार छिरिङ तामाङले बताएका छन्।
उनका अनुसार टिमुरे र स्याफ्रुबेँसी क्षेत्रको अवस्था अत्यन्तै भयावह छ। बाढीबाट प्रभावित केही मानिस रूख तथा डाँडामा आश्रय लिएर उद्धारको पर्खाइमा रहेको उनले बताए।
‘टिमुरे र स्याफ्रुबेँसी गाउँ नै छैनजस्तो भएको छ। मानिसहरू गुहार मागिरहेका छन्। कोही रूखमा त कोही डाँडामा बसेर उद्धारको पर्खाइमा छन्,’ तामाङले भने।
बाढी प्रभावित क्षेत्रमा पर्याप्त हेलिकप्टर पठाउन आफूहरूले गृहमन्त्रीसँग आग्रह गरिरहेको उनले बताए। उद्धारका लागि हेलिकप्टर पुगे पनि खराब भौगोलिक अवस्था र अवतरण गर्न नसक्ने अवस्थाका कारण समस्या भइरहेको उनको भनाइ छ।
तामाङका अनुसार स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा अहिले फोन सम्पर्कसमेत हुन सकेको छैन। डाँडातर्फ भागेर ज्यान जोगाएका केही मानिसले मात्रै आफूहरू सुरक्षित स्थानमा पुगेको जानकारी गराएका छन्।
‘अहिले यति नै क्षति भयो भनेर यकिन विवरण दिन सक्ने अवस्था छैन। तर मेरो अनुमानमा करिब ४० प्रतिशत मानिस सम्पर्कविहीन हुनुहुन्छ,’ उनले भने।
उनका अनुसार गोसाईंकुण्ड गाउँपालिकाका वडा नम्बर २, ३ र ५ बाढीबाट बढी प्रभावित भएका छन्। करिब ६० प्रतिशत मानिस सम्पर्कमा आउन थाले पनि उनीहरूलाई तत्काल उद्धारको आवश्यकता रहेको उनले बताए।
बाढीका कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। नुवाकोटको त्रिशूली र बेत्रावती बजार क्षेत्रमा समेत बाढीले अकल्पनीय क्षति पुर्याएको स्थानीयहरूले बताएका छन्।
वडाध्यक्ष तामाङले तत्काल राज्यका सम्पूर्ण सुरक्षा निकाय परिचालन गरी प्रभावित नागरिकको उद्धार गर्नुपर्ने बताए। फसेका नागरिकलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तथा सम्भव भएसम्म महत्वपूर्ण सामग्री र सम्पत्तिसमेत सुरक्षित गर्न पहल गर्नुपर्ने उनको भनाइ छ।
‘स्थानीय बासिन्दालाई नआत्तिन र सकेसम्म सुरक्षित स्थानमा जान आग्रह गर्दछु। राज्यले सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरेर उद्धार तथा राहतलाई तीव्र बनाउनुपर्छ,’ तामाङले भने।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण भने उद्धार तथा खोजी कार्यपछि मात्रै स्पष्ट हुने बताइएको छ।