एआईको तस्बिर राखेर ‘पुल बनिसक्यो’ भन्दै प्रचार, देवीघाटमा एक्रोब्रिजको काम अझै अधुरै

nepalkuro.com

काठमाडौं– सरकारका कामको प्रचारमा सामाजिक सञ्जाललाई प्रभावकारी माध्यम बनाउँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्तामाथि अहिले निर्माणाधीन पुलको एआईबाट बनाइएको तस्बिर प्रयोग गरी गलत सन्देश प्रवाह गरेको आरोप लागेको छ।

नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माणाधीन ६० मिटर लामो एक्रोब्रिज तयार भइसकेको र सवारीसाधन सञ्चालनमा आएको जस्तो देखिने एआई तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसको वास्तविकतामाथि प्रश्न उठेको हो।

भोटेकोसी बाढीका कारण देवीघाटमा रहेको पक्की पुल बगाएपछि विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ जोड्ने गरी तादी नदीमाथि एक्रोब्रिज जडानको काम अघि बढाइएको हो। त्रिदेशीय मार्गअन्तर्गत गल्छी–बेत्रावती सडकखण्डमा पर्ने उक्त पुल निर्माणको जिम्मेवारी नेपाली सेनाले लिएको छ।

तर पुल निर्माणको काम अझै पूरा भएको छैन। स्थानीय पत्रकार रामहरि न्यौपानेका अनुसार पुल निर्माण सम्पन्न हुन कम्तीमा चार दिन अझै लाग्ने अवस्था छ। उनले विपद्को संवेदनशील समयमा एआईबाट तयार पारिएको तस्बिर प्रयोग गरेर पुल निर्माण सम्पन्न भइसकेको गलत सन्देश प्रवाह नगर्न आग्रह गरेका छन्।

यही अवस्थामा गृहमन्त्री सुधन गुरुङले समेत सामाजिक सञ्जालमा पुल तयार भइसकेको जस्तो देखिने एआईबाट बनाइएको तस्बिर प्रयोग गरेको भन्दै आलोचना भएको छ।

सामाजिक सञ्जालमा सर्वसाधारणको धारणा तथा भावनालाई प्रभाव पार्न एआई र विभिन्न डिजिटल सामग्रीको प्रयोग बढिरहेका बेला वास्तविक निर्माण अवस्थाभन्दा फरक तस्बिर सार्वजनिक गरिनु गलत सूचना फैलाउने माध्यम बन्न सक्ने भन्दै प्रश्न उठाइएको हो।

हिमेश पन्तबाट सुरु भएको दाबी

निर्माणाधीन पुलको सोही प्रकृतिको तस्बिर रास्वपाका नेता तथा कमेडियन हिमेश पन्तले आइतबार बिहान फेसबुकमा सार्वजनिक गरेपछि चर्चा सुरु भएको बताइएको छ।

त्यसपछि पूर्वसचिव भीम उपाध्यायले समेत पुल निर्माण सम्पन्न भइसकेको अर्थ लाग्ने गरी उक्त तस्बिर प्रयोग गरेका थिए। पूर्वपर्यटनमन्त्री श्रद्धा श्रेष्ठले पनि सोही प्रकारको तस्बिर प्रयोग गरेको बताइएको छ।

तर सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्बिर र वास्तविक अवस्थाबीच ठूलो अन्तर रहेको स्थानीयको भनाइ छ।

एआईबाट तयार गरिएको तस्बिरमा पुलको दुवैतर्फ घरहरू देखिन्छन्। तर भदौ १० गते आएको भोटेकोसी बाढीले पुलको दुवैतर्फका मुखमा रहेका घर तथा संरचनामा ठूलो क्षति पुर्‍याइसकेको स्थानीयको भनाइ छ।

त्यसैले उक्त तस्बिर वास्तविक घटनास्थलको अवस्थासँग मेल नखाने देखिन्छ।

वास्तविकतामा अझै बाँकी छ पुलको काम

बाढीपछि क्षतिग्रस्त सडक तथा पुलका कारण आवागमन प्रभावित भएपछि देवीघाटमा वैकल्पिक रूपमा एक्रोब्रिज निर्माणको काम अघि बढाइएको हो।

पुल जडानको काम तीव्र रूपमा अघि बढाइएको भए पनि पुल पूर्ण रूपमा तयार भइसकेको छैन। तादी नदीको वारिपट्टि केही भागमा स्टिल राख्ने काम सुरु भए पनि पारिपट्टिको काम अझै अघि बढिनसकेको स्थानीयको भनाइ छ।

भोटेकोसी बाढीपछि ११ दिनमै देवीघाटमा एक्रोब्रिज जडानको काम अघि बढ्नु आफैँमा चुनौतीपूर्ण उपलब्धि भए पनि निर्माणाधीन संरचनालाई पूर्ण रूपमा तयार भएको देखाउने तस्बिर सार्वजनिक गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुन सक्ने स्थानीय तथा पत्रकारहरूको भनाइ छ।

विपद्का बेला उद्धार, राहत र पुनःस्थापनासम्बन्धी सूचनाले नागरिकको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले वास्तविक अवस्था र सामाजिक सञ्जालमा प्रस्तुत गरिने सामग्रीबीच समानता हुनुपर्ने उनीहरूको जोड छ।

पुल निर्माण सम्पन्न नभइसकेको अवस्थामा एआईबाट तयार पारिएको तस्बिर प्रयोग गरी पुल तयार भइसकेको तथा सवारीसाधन सञ्चालनमा आएको जस्तो देखाउने प्रचारले सरकारको वास्तविक कामभन्दा प्रचारलाई प्राथमिकता दिएको सन्देश जान सक्ने भन्दै सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ।

प्रतिक्रिया