काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा संकट परेको बेलामा देशको नेतृत्वले जनतालाई आँसु होइन, हिम्मत, आँट र भरोसा दिनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिबारे जानकारी दिने क्रममा प्रधानमन्त्री शाहले भोटेकोशी बाढी रसुवा, नुवाकोट र धादिङको मात्र पीडा नभई सिंगो नेपालमाथि परेको साझा बज्रपात भएको बताएका हुन्।
उनले बाढीले तीन जिल्ला मात्र प्रभावित नभई देशभरका नेपालीलाई पीडा दिएको उल्लेख गर्दै संकटको यस घडीमा सरकार दृढ संकल्पका साथ विपद्सँग जुधिरहेको बताए।
‘संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, हिम्मत, आँट, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं,’ प्रधानमन्त्री शाहले भने, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र हैन। यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो।’उनले विपद्का कारण शरीर थाकेको भन्दै विश्राम लिने वा मन भक्कानिएको भन्दै एकआपसमा बिलौना गर्ने समय नभएको पनि बताए।
‘तर, यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन,’ उनले भने।
प्रधानमन्त्री शाहले सरकार विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सबै प्रयास गरिरहेको उल्लेख गर्दै दृढ संकल्प र साहसका साथ विपद्सँग लड्नुको विकल्प नभएको बताए।
‘दृढ संकल्प र साहसका साथ हामीले लड्नुको विकल्प छैन र थिएन। हामी लडिरहेका छौं,’ उनले भने।
प्रधानमन्त्रीले संकटको यस कठिन घडीमा सबै राजनीतिक दल, सरोकारवाला निकाय तथा सम्पूर्ण नेपालीलाई एकताबद्ध भएर विपद्को सामना गर्नसमेत आग्रह गरेका छन्।