रसुवामा बाढीको क्षति : १६९ शव सङ्कलन, एक हजारभन्दा बढी उद्धार गरिएका व्यक्ति होल्डिङ सेन्टरमा

nepalkuro.com

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवास्थित भोटेकोशी बाढी प्रभावित विभिन्न क्षेत्रको निरीक्षण गरेका छन् ।

राष्ट्रपति पौडेलले रसुवागढी, टिम्मुरे, घट्टेखोला, स्याफ्रुबेंसी, हाकुबेंसी, मैलुङ, कैदलटार, पैहे्रबेंसी, बेत्रावती तथा माथिल्लो त्रिशूली थ्री ‘ए’ र ‘बी’ लगायत बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् ।

अवलोकनपछि सदरमुकाम धुन्चेमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे र नेपाली सेनाको नं. ६ बाहिनीपति उज्ज्वल विक्रम राणासँग प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार तथा राहत कार्यबारे जानकारी लिएका थिए ।

सो क्रममा उनले खोजी, उद्धार र राहतका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।

यसैबीच, भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न क्षेत्रबाट १६९ वटा शव सङ्कलन गरी व्यवस्थापनका लागि नुवाकोट पठाइएको जनाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद आचार्यका अनुसार जिल्लाबाट उद्धार गरिएका एक हजार ८५ जनालाई नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ ।

बाढीमा परी हालसम्म रसुवाका एक हजार ३६५ स्थानीय, अन्य क्षेत्रका एक हजार १६०, विदेशी पर्यटक २६४, बैंकका कर्मचारी २६, सरकारी कर्मचारी ७९, नेपाली सेना २७, नेपाल प्रहरी २८ र सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन रहेको जनाइएको छ ।

बाढीबाट जिल्लाका ११ वटा विद्यालय, २८ वटा सरकारी तथा सार्वजनिक भवन, एक हजार ५०० निजी घर, १५ वटा बैंक, एउटा पेट्रोल पम्प, आठ वटा जलविद्युत् आयोजना, ६ वटा पक्की पुल, आठ वटा बेलीब्रिज, १० वटा झोलुङ्गे पुल र ४१ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

बाढीमा परी घाइते भएकाहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया