जर्मनीको साक्सोनी–एन्हाल्टमा एएफडीको ऐतिहासिक जित

nepalkuro.com

काठमाडौं– जर्मनीको महत्त्वपूर्ण राज्य साक्सोनी–एन्हाल्टमा सम्पन्न निर्वाचनमा आप्रवासीविरोधी तथा लोकपुलिस्ट अति दक्षिणपन्थी पार्टी ‘अल्टरनेटिभ फर जर्मनी’ (एएफडी) ले ऐतिहासिक जित हासिल गरेको छ।

प्रारम्भिक एक्जिट पोलका अनुसार एएफडीले आफ्नो मत आधार दोब्बरभन्दा बढी बढाउँदै ४४.४ प्रतिशत मत प्राप्त गरेको छ। यो चान्सलर फ्रिडरिक मेर्जको कन्जरभेटिभ पार्टी ‘क्रिश्चियन डेमोक्रेटिक युनियन’ (सिडियु) भन्दा निकै बढी हो।

यस जितसँगै एएफडी दोस्रो विश्वयुद्धयता जर्मनीमा कुनै राज्यमा सत्तामा पुग्ने पहिलो अति दक्षिणपन्थी दल बन्ने ऐतिहासिक मोडमा पुगेको छ। यद्यपि, मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

निर्वाचनमा सिडियुले १८.४ प्रतिशत मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ। अति वामपन्थी ‘डी लिङ्क’ले ९.३ प्रतिशत, ग्रिन पार्टीले ८.७ प्रतिशत र सोसल डेमोक्रेट्स (एसपिडी)ले ८.४ प्रतिशत मत प्राप्त गरेका छन्।

त्यस्तै, डी लिङ्कबाट विभाजन भएर बनेको सानो दल ‘बीएसडब्लु’ले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै संसद्मा प्रवेशका लागि आवश्यक ५ प्रतिशतको थ्रेसहोल्ड पार गरेको छ। उक्त दलले ऊर्जा मूल्य सुधारलगायत केही मुद्दामा एएफडीसँग सहकार्य गर्न सकिने संकेत दिएको छ।

निर्वाचनमा मतदाताको सहभागिता ७६.५ प्रतिशत पुगेको छ, जुन उच्च सहभागिताका रूपमा देखिएको छ।

मतगणना जारी रहे पनि एएफडीले राज्य संसद्मा पूर्ण बहुमत हासिल गर्न नसक्ने देखिएको छ। अन्य दलसँग गठबन्धन नगर्ने अडान लिएको एएफडीका लागि सरकार गठन गर्न पूर्ण बहुमत आवश्यक पर्ने अवस्था देखिएको छ।

सिडियुसहित जर्मनीका मुख्यधारका दलहरूले ‘ब्रान्डमाउर’ अर्थात् राजनीतिक पर्खालको नीतिअन्तर्गत एएफडीसँग गठबन्धन वा कुनै पनि प्रकारको सहकार्य नगर्ने घोषणा यसअघि नै गरिसकेका छन्।

जर्मनीको घरेलु गुप्तचर निकायले साक्सोनी–एन्हाल्टस्थित एएफडीको शाखालाई यसअघि नै ‘दक्षिणपन्थी अतिवादी’ संगठनका रूपमा वर्गीकरण गरिसकेको छ। त्यसैले ऐतिहासिक निर्वाचन जिते पनि एएफडीले सरकार गठन गर्न भने ठूलो राजनीतिक चुनौती सामना गर्नुपर्ने देखिएको छ।

प्रतिक्रिया