भोटेकोशी बाढीमा बेपत्ता आफन्तको पहिचानको आशमा चितवनमा डीएनए नमुना दिँदै परिवार

nepalkuro.com

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफ्ना सन्तान तथा आफन्तको खोजीमा रहेका परिवारजन अहिले डीएनए परीक्षणमार्फत भए पनि पहिचान हुने आशामा छन्।

चितवनको भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा मङ्गलबारदेखि बाढीमा बेपत्ता व्यक्तिका आफन्तबाट डीएनए परीक्षणका लागि रगतको नमुना सङ्कलन भइरहेको छ। जिल्ला प्रहरी कार्यालय चितवन, बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर (सेवा इकाइ चितवन) र जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा आफन्तबाट नमुना सङ्कलन गरिएको हो।

बारा कलैयाका भगवान शर्मा भोटेकोशी बाढीपछि बेपत्ता भएका छोराको खोजीमा सम्भावित स्थानमा भौँतारिरहेका छन्। छोराको कुनै पत्तो नलागेपछि डीएनए परीक्षणमार्फत पहिचान हुनसक्ने जानकारी पाएर उनी नागरिकताको प्रतिलिपि र आफ्नो फोटोसहित चितवन आएका हुन्।

डीएनए नमुना दिएपछि पनि उनको मन ढुक्क हुन सकेको छैन। शव फेला परेमा कम्तीमा पहिचान गर्न सकिने आशमा नमुना दिए पनि छोरा जीवितै भेटिने आश भने अझै नहराएको उनले बताए।

त्यस्तै, बर्दियाका रामबहादुर थारू पनि हराइरहेका छोराको खोजीमा भदौ ११ गतेदेखि चितवनमा छन्। आफ्ना छोरासहित १६ जना साथी बाढीमा बेपत्ता भएको बताउने थारूले धेरै शव हेरे पनि छोरालाई भेट्टाउन सकेका छैनन्।

“सासको आश मरे पनि लास भए पनि भेटिन्छ कि भनेर डीएनए ‘म्याचिङ’का लागि रगत दिएको हुँ,” उनले आफ्नो पीडा सुनाए।

थारूलाई अझै पनि छोरा हराएको स्थानमै पुगेर खोजी गर्ने इच्छा छ। उनका अनुसार छोराले काम गर्ने कम्पनी काठमाडौँमा रहेकाले कम्पनीसँग सल्लाह गरेर घटनास्थलतर्फ जाने तयारी भइरहेको छ।

कम्पनीले पनि खोजी कार्यमा सहयोग गरिरहेको बताउँदै उनले घटनास्थलसम्म पुग्ने व्यवस्था कम्पनीले मिलाइदिए सहज हुने अपेक्षा व्यक्त गरे।

शवबाट दाँत र हड्डीको नमुना सङ्कलन

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका पहिचान नखुलेका शवबाट डीएनए नमुना निकालिएको छ। चितवनमा आफन्तबाट सङ्कलन गरिएको रगतको नमुना र शवबाट निकालिएको नमुना मिलान गराउन नमुना सङ्कलन भइरहेको उनले बताए।

उनका अनुसार सङ्कलित नमुना परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइनेछ।

नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलका अनुसार बेपत्ता व्यक्तिको पहिचानका लागि शवबाट मुख्य रूपमा दाँत र हड्डीको नमुना सङ्कलन गरिएको छ। उक्त नमुनाबाट डीएनए प्रोफाइल तयार गरी आफन्तको डीएनएसँग सफ्टवेयरमार्फत मिलान गरिनेछ।

उनले भने, “पहिलो प्राथमिकतामा बुबाआमा वा छोराछोरी अर्थात् पहिलो तहका आफन्तको डीएनए नमुना आवश्यक पर्छ। यदि पहिलो तहका आफन्त उपलब्ध नभए दाजुभाइ वा दिदीबहिनीको नमुना प्रयोग गरेर पनि परीक्षण गर्न सकिन्छ।”

स्वदेश र विदेशमा रहेका आफन्तलाई नमुना दिन आग्रह

नेपाल प्रहरीले पहिचान नखुलेका तथा बेवारिसे अवस्थामा रहेका शव आफन्तजनको जिम्मा लगाउन स्वदेश तथा विदेशमा रहेका मृतकका परिवारलाई डीएनए नमुना उपलब्ध गराउन आग्रह गरेको छ।

चितवनबाहिर रहेका स्वदेशमा रहेका आफन्तले आफ्नो पायक पर्ने जिल्ला प्रहरी कार्यालय वा नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, काठमाडौँको प्याथोलोजी ल्याबमा दुई प्रति पासपोर्ट साइजको फोटोसहित सम्पर्क गरी ताजा रगतको नमुना दिन सक्नेछन्।

त्यस्तै, विदेशमा रहेका पहिलो तहका नातेदारले सम्बन्धित देशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग वा आफू बसोबास गरिरहेको देशमै डीएनए प्रोफाइल तयार गरी त्यसको ‘सफ्ट कपी’ नेपाल प्रहरीको आधिकारिक इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन सक्ने व्यवस्था गरिएको छ।

बाढीपछि ठूलो सङ्ख्यामा मानिस बेपत्ता र शव पहिचानविहीन रहेको अवस्थामा डीएनए परीक्षण आफन्तलाई आफ्ना प्रियजनको अवस्थाबारे यथार्थ जानकारी पाउने महत्वपूर्ण माध्यम बनेको छ। परिवारजन भने डीएनए परीक्षणबाट भए पनि आफ्ना आफन्तको पहिचान खुल्ने र लामो समयदेखि जारी अनिश्चितताको अन्त्य हुने आशामा छन्।

प्रतिक्रिया