नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवन क्षेत्रमा फेला परेका शवको व्यवस्थापन, पहिचान तथा डिएनए नमुना संकलन कार्यलाई तीव्रता दिइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हालसम्म जिल्लाका विभिन्न स्थानबाट ३ सय ६२ वटा शव फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार फेला परेकामध्ये ३ सय ३३ वटा शवको सुरक्षित व्यवस्थापन भइसकेको छ । सनाखत भएका १४ वटा शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको छ ।
शवहरूको वैज्ञानिक विधिबाट पहिचान गर्न भदौ १६ गतेदेखि आफन्तहरूको डिएनए नमुना संकलन सुरु गरिएको थियो । प्रहरी नायब उपरीक्षक यादवका अनुसार भदौ २० गतेसम्म हराइरहेका व्यक्तिका ६८ जना आफन्तको डिएनए नमुना संकलन भइसकेको छ ।
प्रहरीका अनुसार भदौ १६ गते ७ जना, भदौ १७ गते २६ जना (२ महिला, २२ नेपाली पुरुष र २ भारतीय पुरुष), भदौ १८ गते २२ जना (४ महिला, १४ नेपाली पुरुष, १ बालक र ३ भारतीय पुरुष), भदौ १९ गते ७ जना (१ महिला, ४ नेपाली पुरुष, १ बालक र १ भारतीय पुरुष) तथा भदौ २० गते ६ जना (२ महिला, १ पुरुष र ३ बालक) आफन्तको डिएनए नमुना संकलन गरिएको छ ।
नदी किनारमा थप शवको खोजी, फेला परेका शवको पहिचान तथा बेपत्ता व्यक्तिका आफन्तको विवरण संकलन गर्ने कार्य निरन्तर भइरहेको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिचान हुन बाँकी शवको वैज्ञानिक परीक्षण तथा आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारसम्म पुर्याउने कार्यलाई प्राथमिकतामा राखिएको छ ।