दार्चुलामा ठूलो पहिरो खस्दा चौलानी नदी आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता
nepalkuro.com
१९ भदौ २०८३, शुक्रबार
दार्चुला– अपिहिमाल गाउँपालिका–९ भट्टारमा ठूलो पहिरो खसेपछि चौलानी नदी आधा थुनिएको छ। पहिरो निरन्तर झरिरहेकाले नदी पूर्ण रूपमा थुनिन सक्ने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
नदी पूर्ण रूपमा थुनिएपछि एक्कासि पानीको बहाव बढ्न सक्ने जोखिम रहेकाले प्रशासनले चौलानी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले शुक्रबार अपराह्न सम्भावित जोखिमबाट धनजनको क्षति न्यूनीकरण गर्न नदीको तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
प्रशासनले स्थानीय बासिन्दालाई नदी आसपासका क्षेत्रमा आवतजावत नगर्न तथा नदीको अवस्था निरन्तर निगरानी गर्न आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै उद्धार आवश्यक परे राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) को ११४९, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ नम्बरमा सम्पर्क गर्न भनिएको छ।
यसका साथै जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा समेत तत्काल जानकारी गराउन प्रशासनले आग्रह गरेको छ।
पहिरो झर्ने क्रम नरोकिएकाले चौलानी नदी जुनसुकै बेला पूर्ण रूपमा थुनिन सक्ने र त्यसपछि एक्कासि पानीको बहाव बढ्न सक्ने जोखिम रहेकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्क रहन प्रशासनले आग्रह गरेको छ।