बाढीपहिरोमा माटोमुनि पुरिएकी ८० वर्षीया पुतलीको डोजरको बकेटमै उद्धार, चिकित्सक भन्छन्– ‘मुखमा हाँसो फर्काउन पाउँदा डाक्टर भएको सार्थकता’

nepalkuro.com

नुवाकोट– नुवाकोटको देवीघाटस्थित वृद्धाश्रममा रहेकी ८० वर्षीया पुतली तामाङ भदौ १० गतेको बाढीपहिरोमा भग्नावशेष र माटोमुनि पुरिइन्। तर, बाढीपहिरोलगत्तै उद्धारमा खटिएका सुरक्षाकर्मीले केही घण्टामै उनलाई जीवितै उद्धार गरे।

उद्धारका क्रममा डोजरले माटो पन्छाउँदै गर्दा पुतली अनौठो अवस्थामा भेटिएकी थिइन्। डोजरले माटो खनेर निकाल्ने क्रममा उनी सुरक्षित रूपमा डोजरकै बकेटमा बस्न पुगेकी थिइन्, र त्यही अवस्थामा उनलाई उद्धार गरिएको थियो। उनको उद्धारको उक्त दृश्य सामाजिक सञ्जालमा समेत निकै भाइरल बनेको थियो।

सिभिल अस्पतालका कन्सल्टेन्ट सर्जन डा. विजयकुमार साहसहितको स्वास्थ्यकर्मीको टोलीले विदुरमा उनको प्राथमिक उपचार गरेको थियो। डा. साहका अनुसार पुतलीलाई शारीरिक रूपमा सामान्य चोटपटक मात्र लागेको थियो। तर, बाढीपहिरोको घटनाबाट उनी यति ठूलो मानसिक आघातमा परेकी थिइन् कि उद्धारपछिका सुरुवाती तीन–चार घण्टासम्म एक शब्द पनि बोल्न सकेकी थिइनन्।

हाल होल्डिङ सेन्टरमा रहेकी पुतलीको स्वास्थ्यमा सुधार आएको छ। डा. साहले सामाजिक सञ्जालमा उनको तस्वीर राख्दै लेखेका छन्, ‘यो आमाको मुखमा हाँसो फर्काउने मौका पाएकोमा आज डाक्टर भएको सार्थक महसुस गर्दैछु।’

पुतलीको घटना नुवाकोटमा बाढीपहिरो पीडितको उपचारमा खटिएका चिकित्सकहरूले देखेका अनेक पीडादायी घटनामध्ये एक हो।

बाढीपहिरोमा घाइते भएकाहरूको उपचारका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वय गरेर चिकित्सकको टोली रसुवा जाने तयारीमा थियो। तर, रसुवा जाने बाटो बन्द भएपछि डा. साहसहितको टोली विदुरमै रोकिएर विभिन्न शिविरमा उपचारमा संलग्न भएको थियो।

टोलीमा डा. विश्रुत रेग्मी, डा. रोशन ग्वाछाललगायत स्वास्थ्यकर्मी सहभागी थिए। टोलीले विदुरका तामाङ होल्डिङ सेन्टर, कभर्ड हल होल्डिङ सेन्टर, नुवाकोट स्वास्थ्य चौकी र आयुर्वेदिक अस्पताल गरी चार स्थानमा लगातार तीन दिनसम्म स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।

शिविरमा बाढीपहिरोका कारण घाइते भएका, हातखुट्टा काटिएका तथा शरीरमा काठ र गेगर बिझेका व्यक्तिको प्राथमिक उपचार गरिएको डा. साहले बताए। हाडजोर्नी विशेषज्ञ डा. रोशनले फ्र्याक्चर भएका बिरामीको प्लास्टर गरेका थिए भने अन्य स्वास्थ्यकर्मीले सामान्य शल्यक्रिया तथा घाउ सफा गर्ने काम गरेका थिए।

शारीरिक चोटभन्दा मानसिक आघात ठूलो

उपचारमा संलग्न डा. साहका अनुसार शिविरमा उपचारका लागि आएका अधिकांश पीडितमा शारीरिक चोटभन्दा मानसिक आघात बढी देखिएको थियो।

बाढीपहिरोका कारण घरबास, धनसम्पत्ति र कतिपयले परिवारका सदस्यसमेत गुमाउनुपरेपछि धेरै पीडितमा अत्यधिक मानसिक तनाव र निराशा देखिएको उनले बताए।

पीडितहरूमा अबको जीवन कसरी चलाउने, कहाँ जाने र भविष्य के हुने भन्ने चिन्ता तथा डर देखिएको चिकित्सकहरूको अनुभव छ। कतिपयको पूरै परिवार नै बाढीपहिरोमा गुमेकाले उनीहरूलाई शारीरिक उपचारसँगै मनोवैज्ञानिक परामर्शको आवश्यकता रहेको डा. साहले बताए।

प्रभावित क्षेत्रमा राहत तथा उपचारको काम जारी रहे पनि पीडितको दीर्घकालीन पुनःस्थापना र मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्। उनीहरूका अनुसार प्रभावित क्षेत्रमा मनोचिकित्सक तथा मनोसामाजिक परामर्शदाताको टोली समेत परिचालन गर्न आवश्यक छ।

प्रतिक्रिया