एम्बुलेन्सको साइरन, हतासमा दौडिरहेका स्वास्थ्यकर्मी, बेड खोजिरहेका आफन्त ।
यी सबै दृश्य एउटै ठाउँमा भेटिन्छन् । त्यो हो, अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) जुन कहिल्यै शान्त हुँदैन ।
यही ठाउँ हो, जहाँ केही मिनेटको ढिलाइले जीवन समाप्त हुन सक्छ । तर विडम्बना, यही ठाउँ पछिल्ला वर्षहरूमा स्वास्थ्यकर्मीमाथि हुने हातपात र आक्रमणको सबैभन्दा जोखिमपूर्ण क्षेत्र पनि बनेको छ ।
नेपाल चिकित्सक संघको पछिल्ला १० महिनामा मात्रै झण्डै सयको हाराहारीमा स्वास्थ्यकर्मीमाथि कुटपिट, दुर्व्यवहार र तोडफोडका घटना दोहोरिएका छन् ।
जसमध्ये सबैभन्दा बढी आकस्मिक कक्षमै बिरामीको मृत्यु वा अवस्था गम्भीर बनेपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि दोष थोपर्ने प्रवृत्ति बढ्दो छ ।
२०८१ वैशाखमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा ६२ वर्षीय पुरुषको मृत्यु भएपछि उनका आफन्तले आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका चिकित्सकमाथि कुटपिट गरेका थिए ।
आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाए पनि अस्पतालले बिरामीको अवस्था गम्भीर भएपछि चिकित्सकले सिपिआरलगायत सबै प्रयास गर्दा पनि बचाउन नसकिएको जनाएको थियो ।
घटनामा इमर्जेन्सी विभाग प्रमुख प्रा.डा विनिता प्रधानसहित दुई चिकित्सकमाथि हातपात भएको थियो भने आकस्मिक कक्षका काउन्टर र झ्यालमा समेत तोडफोड गरिएको थियो ।तर के साँच्चै प्रत्येक मृत्यु चिकित्सकको कमजोरीका कारण हुन्छ ?
वीर अस्पतालका पूर्व आकस्मिक कक्ष प्रमुख डा. श्रीराम तिवारी आकस्मिक कक्षको यथार्थलाई नजिकबाट बुझेका चिकित्सक हुन् ।
तिवारीका अनुसार इमर्जेन्सीमा आउने धेरै बिरामीको रोग अस्पताल आइपुग्नु अघि निकै जटिल भइसकेको हुन्छ ।
हृदयाघात, मस्तिष्कघात वा रक्तसञ्चारसँग सम्बन्धित रोगहरूमा बिरामी केही समयअघिसम्म सामान्य देखिन सक्छ । तर रक्तनली बन्द हुनेबित्तिकै शरीरभित्रको क्षति तीव्र गतिमा सुरु हुन्छ । बिरामी घरबाट अस्पताल आउँदासम्म रोगले गम्भीर रूप लिइसकेको हुन सक्छ ।
कतिपय रोगको प्रकृति नै केही मिनेट वा घण्टामै बिरामीको अवस्था अत्यन्त गम्भीर हुन सक्छ । तर आफन्त भने ‘भर्खरै त ठीक थियो’ भन्ने मनोविज्ञानबाट बाहिर निस्कन सक्दैनन् ।आकस्मिक कक्षमा चिकित्सकले सबैभन्दा धेरै सुन्ने वाक्य यही हो ‘मेरो मान्छे भर्खरै त हिँडेर आएको थियो ।’
डा. तिवारीका अनुसार यही वाक्यले विवादको सुरुवात गर्छ । आफन्तको आँखामा बिरामी केही समयअघिसम्म सामान्य देखिएको हुन्छ । तर चिकित्सकले परीक्षण गर्दा शरीरभित्र अवस्था निकै जटिल भइसकेको पत्ता लाग्छ ।
ईसीजी, सिटी स्क्यान, एक्स-रे, रगत परीक्षण, औषधि, इन्जेक्सन, सीपीआरसबै प्रक्रिया एकैसाथ चलिरहेका हुन्छन् । चिकित्सक उपचारमा केन्द्रित हुन्छन् भने आफन्त उत्तर खोजिरहेका हुन्छन् ।
यही क्षणमा संवाद कमजोर भयो भने अविश्वास जन्मिन थाल्छ ।
डा. तिवारी स्वीकार्छन् – आकस्मिक कक्षमा कहिलेकाहिँ पर्याप्त निरन्तर संवाद वा काउन्सिलिङ गर्न कठिन हुन्छ । कारण, त्यहाँ प्रत्येक मिनेट बिरामीको जीवनसँग जोडिएको हुन्छ ।इमर्जेन्सीमा एउटा चिकित्सकले एउटै समयमा तीनदेखि पाँचजना गम्भीर बिरामी सम्हाल्नुपर्ने अवस्था आउन सक्छ । यस्तो अवस्थामा प्राथमिकता उपचारलाई दिनुपर्छ ।
तर बिरामीका आफन्तको अपेक्षा भने फरक हुन्छ । उनीहरू प्रत्येक निर्णयको तत्काल व्याख्या चाहन्छन् ।
जसले गर्दा बुझाइमा अन्तर हुन्छ ।
‘उपचार जति छिटो सुरु गरियो, बिरामी बच्ने सम्भावना त्यति बढ्छ । त्यसैले कतिपय अवस्थामा उपचारलाई प्राथमिकता दिनुपर्छ । विस्तृत संवाद पछि मात्र सम्भव हुन्छ,’ डा. तिवारी भन्छन् ।