पोखरा–दुबई सिधा उडान दिगो बनाउन पर्यटन व्यवसायीको ऐक्यबद्धता
nepalkuro.com
२३ भदौ २०८३, मङ्गलबार
पोखरा– पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ गते (सेप्टेम्बर २३) देखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो रूपमा सञ्चालन गर्न बजारीकरण तथा प्रवर्द्धनमा सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले पोखरामा आयोजना गरेको पोखरा–दुबई नियमित उडानसम्बन्धी अन्तरक्रियामा सहभागी पर्यटन व्यवसायीले पर्यटकीय राजधानी पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने गरी हुन लागेको उडानलाई प्रभावकारी र दिगो बनाउनुपर्नेमा जोड दिएका हुन्।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले फ्लाई दुबईको पोखरा उडानबाट पर्यटन क्षेत्रले मात्र नभई सिङ्गो गण्डकी प्रदेश र मुलुकको आर्थिक गतिविधिमा समेत टेवा पुग्ने बताए। लामो प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन लागेकाले यसको सफलतासँग पोखरेलीको भविष्यसमेत जोडिएको उनको भनाइ थियो।
अध्यक्ष भुजेलले पोखरा–दुबई हवाई उडानलाई सफल र दिगो बनाउन पोखरेली पर्यटन व्यवसायी ऐक्यबद्ध भएर लाग्ने बताए।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा–दुबई उडान सफल बनाउनु सम्बद्ध सबै पक्षको दायित्व भएको बताए।
‘पोखरालाई विश्वास गरेर फ्लाई दुबई यहाँ आएको छ, हामी सबैले आ–आफ्नो ठाउँबाट साथ दिनुपर्छ,’ उनले भने।
उनले पहिलोपटक हुन लागेको उडानलाई दिगो बनाउन आउन सक्ने चुनौतीलाई अवसरमा बदल्नुपर्ने बताए। फ्लाई दुबईको उडानले पर्यटकीय राजधानी पोखरालाई अन्तर्राष्ट्रिय जगतमा थप पहिचान दिलाउन सहयोग पुग्ने उनको भनाइ थियो।
फ्लाई दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले काठमाडौंको तुलनामा पोखराबाट हुने उडानको टिकट मूल्य पाँच हजार रुपैयाँसम्म सस्तो रहेको बताए। फ्लाई दुबईले विश्वका १२० भन्दा बढी गन्तव्यमा सिधा उडान गर्दै आएको जनाउँदै उनले टिकट बुकिङमा सहयोग गर्न नाट्टासँग आबद्ध व्यवसायीलाई आग्रह गरे।
महाप्रबन्धक शाहीले पोखरा–दुबई उडान प्रवर्द्धनका क्रममा यात्रु तथा साझेदार संस्थालाई छुटलगायतका सुविधा उपलब्ध गराइने बताए।
कार्यक्रममा फ्लाई दुबईका दक्षिणपूर्वी एसियाका क्षेत्रीय प्रबन्धक विनोद अब्राहमले कम्पनीका सेवा र विशेषताबारे प्रस्तुति दिएका थिए। उनले पोखरा–दुबई उडान सफल भएमा अन्य अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीलाई समेत पोखरामा आकर्षित गर्न सहयोग पुग्ने बताए।
क्षेत्रीय प्रबन्धक अब्राहमले उडान सेवालाई दिगो र प्रभावकारी बनाउन सबै पक्षको साथ, सहयोग र ऐक्यबद्धता आवश्यक रहेको उल्लेख गरे।
नाट्टा गण्डकीका अध्यक्ष सङ्गीता पौडेलले पोखरा–दुबई उडान सफल हुँदा पर्यटन व्यवसायी मात्र नभई मुलुकका अन्य क्षेत्रले समेत प्रत्यक्ष लाभ लिन सक्ने बताइन्। उनले उडानको सफलता र निरन्तरताका लागि आवश्यक सहयोग तथा सहकार्य गर्न पोखरेली पर्यटन व्यवसायी प्रतिबद्ध रहेको बताइन्।
केही दिनअघि पोखरा महानगरपालिका र फ्लाई दुबईबीच पनि पर्यटन प्रवर्द्धन, गन्तव्यको बजारीकरण तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारलगायत पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने विषयमा समझदारी भएको थियो।
पोखरा–दुबई सिधा उडानले पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। उडान सेवालाई स्थायित्व दिन स्थानीयवासी तथा सरोकारवाला सबै पक्षको सहयोग महत्वपूर्ण हुने देखिएको छ।
यो उडानबाट गण्डकी प्रदेश तथा आसपासका नागरिकलाई दुबई हुँदै लण्डन, न्युयोर्क, टोकियोलगायत विश्वका २५० भन्दा बढी गन्तव्यमा पुग्न सहज हुने जनाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमा फ्लाई दुबईलाई दुबई–पोखरा–दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो।
यसबीच फ्लाई दुबईले उडान तालिका सार्वजनिक गरिसकेको छ। सुरुमा एक महिनाका लागि दिनमा एकपटक उडान गर्ने घोषणा गरेको कम्पनीले सन् २०२७ मार्च २६ सम्मको बुकिङ खुला गरिएको जनाएको छ।
सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको थियो। विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
वैदेशिक रोजगारी, अध्ययन तथा घुमफिरका लागि अरब मुलुकसहित अन्य देश जाने यात्रुका लागि पनि यो उडान लाभदायी हुने देखिएको छ। त्यस्तै, पोखरासहित गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रमा घुमफिर गर्न आउने विदेशी पर्यटकलाई समेत सिधै पोखरा पुग्न सहज हुने अपेक्षा गरिएको छ।