काठमाडौं– भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिसम्बन्धी विषयमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने तथा अपमानजनक अभिव्यक्ति दिएको र विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडै पक्राउ परेका हुन्।
मडैलाई भदौ २० गते पक्राउ गरिएको ब्यूरोले जनाएको छ। उनले फेसबुक रिलमार्फत जातजातिलाई लक्षित गरी अपमानजनक तथा होच्याउने किसिमको भिडियो सामग्री प्रसारण गरेको आरोप छ।
पक्राउ परेका मडैलाई काठमाडौं जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद लिएर थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालमा जातीय तथा सामुदायिक सद्भावमा असर पार्ने, अपमानजनक वा आपत्तिजनक सामग्री प्रसारण नगर्नसमेत सचेत गराएको छ।