रसुवाको चिलिमे सुरुङमा उद्धारका लागि अमेरिकी विज्ञ टोली, ‘लिसनिङ इक्विपमेन्ट’ प्रयोग गरिँदै

nepalkuro.com

काठमाडौँ– गत बुधबार रसुवा र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि सिंगो देश शोकमा डुबेको छ। भोटेकोशीको उर्लँदो भेलले कैयौँ परिवारको खुसी खोसेको छ भने हजारौँ नागरिक प्रभावित भएका छन्।

यही असहज परिस्थितिमा बाढीपीडितलाई राहत तथा बेपत्ताको खोजी र उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग जुट्ने क्रम जारी छ। यसैक्रममा संयुक्त राज्य अमेरिकाको ‘क्राइसिस रेस्पोन्स इन्टरनेसनल’को १३ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको छ।

अमेरिकी टोलीले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा केन्द्रित भएर खोजी तथा उद्धार कार्य सुरु गर्ने बताइएको छ।

टोलीका सदस्य फेरिन कोलले नेपाली जनताको धैर्यता र साहसको प्रशंसा गर्दै उद्धार कार्यमा सहभागी हुन पाउनु आफ्नो टोलीका लागि सौभाग्य भएको बताएका छन्।

“नेपाली जनता अत्यन्तै सहनशील छन् र उनीहरूले उद्धार कार्यमा अद्भुत काम गरिरहेका छन्। उनीहरूको सेवामा सहभागी हुन पाउनु हाम्रो लागि सौभाग्यको कुरा हो,” कोलले भनेका छन्।

उनले बाढीका कारण कैयौँ परिवारले आफ्ना प्रियजन गुमाएको भन्दै अवस्था निकै हृदयविदारक रहेको बताएका छन्।

सुरुङभित्र जीवित व्यक्ति हुनसक्ने आशा

चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र केही मानिस जीवितै रहेको हुनसक्ने आशा गरिएको छ। यही सम्भावनालाई ध्यानमा राख्दै अमेरिकी विज्ञ टोलीले खोजी तथा उद्धारको कार्ययोजना तयार पारेको जनाएको छ।

कोलका अनुसार टोलीको मुख्य योजना हेलिकोप्टरमार्फत जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा पुगेर खोजी अभियान अघि बढाउने रहेको छ।

टोलीले सुरुङभित्र मानिसको आवाज वा स्पन्दन पत्ता लगाउन अत्याधुनिक ‘लिसनिङ इक्विपमेन्ट’ प्रयोग गर्नेछ। उक्त प्रविधिबाट सुरुङभित्र रहेका व्यक्तिको सम्भावित आवाज वा गतिविधि पत्ता लगाएपछि उद्धार टोली सुरुङभित्र प्रवेश गरी अवस्थाको यकिन गर्ने तयारीमा छ।

सुरुङ प्रवेश चुनौतीपूर्ण

उद्धार टोलीका अर्का सदस्य डेरिक स्पेन्सरले सुरुङभित्र प्रवेश गर्ने काम निकै चुनौतीपूर्ण रहेको बताएका छन्।

“हाम्रो टोली सुरुङको प्रवेशद्वारसम्म पुगेको थियो। तर, परिस्थिति निकै चुनौतीपूर्ण देखिएपछि हामीले विशेष सावधानी अपनाउँदै डोरीको सहायता लिने निर्णय गरेका छौँ। सुरुङको भित्री भागसम्म पुग्न थप जनशक्ति र समन्वयको खाँचो छ,” उनले भने।

उनका अनुसार कठिन भौगोलिक अवस्था र जोखिमका बीच उद्धार कार्यलाई प्रभावकारी बनाउन स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा स्वदेशी र विदेशी उद्धारकर्मी एकजुट भएर काम गरिरहेका छन्।

“हामी स्थानीय बासिन्दा र सशस्त्र प्रहरी बलसँग मिलेर काम गरिरहेका छौँ। सबैको सहकार्यले नै यो जोखिमपूर्ण कामलाई सम्भव बनाउनेछ,” स्पेन्सरले भने।

चिलिमे सुरुङ क्षेत्रमा अझै मानिस जीवित रहेको हुनसक्ने सम्भावनाले स्थानीय बासिन्दा र उद्धारकर्मीमा आशा जगाएको छ। अहिले सबैको ध्यान त्यही क्षेत्रमा केन्द्रित छ भने सम्भावित जीवित व्यक्तिको खोजीका लागि स्वदेशी तथा विदेशी उद्धार टोलीले प्रयास तीव्र बनाएका छन्।

प्रतिक्रिया