सुरुङमा फसेकाको उद्धारमा जुट्यो चिनियाँ प्राविधिक टोली ।

nepalkuro.com

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित रसुवास्थित जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदारको उद्धारका लागि ६ सदस्यीय चिनियाँ प्राविधिक विशेषज्ञ टोली उद्धार कार्यमा जुटेको छ।

सरकारको अनुमतिमा नेपाल आएको चिनियाँ टोलीले नेपाली सेनाको विशेषज्ञ टोलीसँग समन्वय गर्दै उद्धार अभियान सञ्चालन गर्ने भएको हो। टोली चिनियाँ हेलिकोप्टरमार्फत त्रिशूली क्षेत्रमा पुगेको बताइएको छ।

चिनियाँ तथा नेपाली विशेषज्ञहरूको संयुक्त टोलीले सुरुङभित्रको अवस्था, जोखिम र उद्धारको सम्भावनाबारे प्राविधिक निरीक्षण गर्नेछ। प्रारम्भिक अध्ययनबाट उद्धार सम्भव देखिएमा रसुवा–चीन सीमा क्षेत्रमा तयारी अवस्थामा रहेका थप चिनियाँ विशेषज्ञलाई पनि घटनास्थलमा बोलाइने जनाइएको छ।

बाढीका कारण सुरुङ तथा भूमिगत संरचनामा माटो र लेदो भरिएको तथा प्रवेशमार्ग अवरुद्ध भएकाले उद्धार कार्य अत्यन्तै चुनौतीपूर्ण बनेको छ। कठिन परिस्थितिका बाबजुद सरकार, नेपाली सेना र चिनियाँ प्राविधिक टोलीले संयुक्त रूपमा सुरुङभित्र फसेकाहरूलाई सुरक्षित रूपमा उद्धार गर्ने प्रयास जारी राखेका छन्।

भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा कामदार फसेको आशंका गरिएको छ। उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपालले चीन र भारतबाट समेत सुरुङ उद्धारसम्बन्धी प्राविधिक सहयोग परिचालन गरेको छ।

प्रतिक्रिया