कांग्रेसमा एकताको अन्तिम गृहकार्य, वडा अधिवेशनको मिति अनिश्चित

nepalkuro.com

काठमाडौं– दुई दिनपछि सुरु हुनुपर्ने वडा अधिवेशनको मिति अनिश्चित पार्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र आन्तरिक एकताको अन्तिम गृहकार्य सुरु भएको छ ।

आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले वडा अधिवेशनको नयाँ मिति तोक्ने जिम्मेवारी केन्द्रीय निर्वाचन समितिलाई दिएको हो । शनिबार साँझ पार्टी नेता पूर्णबहादुर खड्का र आइतबार मध्याह्न नेता शेखर कोइरालासँग सभापति गगनकुमार थापाले संवाद गरेपछि वडा अधिवेशनको मिति धकेलिएको हो ।

पार्टी सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार पार्टीको बृहत्तर आन्तरिक एकताका लागि सभापति थापाले निर्धारित समयभन्दा तीन दिनअघि नै १५औँ महाधिवेशनको कार्यतालिका स्थगन गरेर एकताका लागि अपनत्व लिएका हुन् ।

“सभापतिज्यूले कार्यसम्पादन समिति बैठकमा पार्टी मिलाउन आफू जिम्मेवार र गम्भीर रहेको बताउनुभयो,” चौधरीले भने, “पार्टीमा एकता कायम गर्न र सबैलाई एक ठाउँमा ल्याउन सभापतिज्यू संवादमै हुनुहुन्छ ।”

एक वर्षअघि २३ र २४ भदौमा भएको जेनजी विद्रोहपछि कांग्रेसभित्र आन्तरिक किचलो बढ्दै आएको छ । गत पुसको अन्तिममा विशेष महाधिवेशनबाट गगन थापा पार्टी नेतृत्वमा स्थापित भएपछि विवाद सतहमा आएको थियो । त्यसपछि पार्टीको आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियो ।

निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधता दिए पनि सर्वोच्चले पछिल्लो समय मुद्दा दोहोर्‍याएर हेर्ने आदेश दिएपछि पार्टीको आधिकारिकता विवादले पूर्ण निकास पाइसकेको छैन ।

संस्थापन पक्षले असोज १९ भित्र १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका अघि सारेको छ । इतर तथा असन्तुष्ट समूहले भने असोज १५ बाट वडा अधिवेशन सुरु गरी मंसिर २३ गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी छुट्टै कार्यतालिका ल्याएको छ । यससँगै कांग्रेसभित्र हाल दुईवटा महाधिवेशन कार्यतालिका छन् ।

दुईवटा कार्यतालिका र फरक–फरक पार्टीगत गतिविधिका कारण कांग्रेस विभाजनको अवस्थासम्म पुगेको नेताहरूले बताउँदै आएका छन् । आइतबार आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर पुगेका इतर समूहका नेता रमेश लेखकले दुवै महाधिवेशन कार्यतालिका रोक्न नसके पार्टी विभाजन हुन सक्ने बताएका थिए ।

उनले गगन थापालाई सभापति स्वीकार गर्न आफूहरू तयार रहेको तर आफूहरूले उठाएका केही माग सम्बोधन हुनुपर्ने बताएका थिए ।

आइतबार भएको गगन–शेखर भेटमा पनि कोइरालाले पार्टी एकताको सूत्र खोज्न महाधिवेशनको मिति सार्न आग्रह गरेका थिए । जवाफमा थापाले पार्टीलाई एकताबद्ध बनाउन आफूले प्रयास गरिरहेको बताएका थिए ।

शेखर–पूर्णबहादुर समूहलाई मूलधारमा ल्याउने प्रयास

पछिल्ला घटनाक्रमले संस्थापन पक्ष आन्तरिक एकताका लागि केही लचिलो बनेको देखिएको छ । अधिवेशनको मिति सार्ने निर्णयसँगै क्रियाशील सदस्यताको विषयमा समेत नेतृत्वले लचकता अपनाएको छ ।

आइतबारको बैठकले डिजिटल रूपमा अद्यावधिक नगरेका क्रियाशील सदस्यलाई पनि महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेको छ । गत पुससम्म सदस्यता नवीकरण गरेकाहरूलाई महाधिवेशनमा भाग लिन दिने निर्णय भएको हो ।

त्यतिबेला थापा महामन्त्री थिए र उनकै संयोजकत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति सक्रिय थियो । अहिले थापा सभापति भएपछि उनकै नेतृत्वमा नवीकरण भएका सदस्यलाई डिजिटल रूपमा अद्यावधिक नभए पनि महाधिवेशनमा सहभागी गराउने निर्णय गरिएको हो ।

पूर्णबहादुर खड्का समूहका नेता श्याम घिमिरेले आइतबारको निर्णयले आफूहरूले अघि सारेका माग सम्बोधन गर्ने बाटो खोलेको बताए ।

“आइतबारको बैठकले धेरै कुरा सहमतिका लागि बाटो खोलेको छ । सातबुँदे हामी चुनदेवीमा भएका सबै मिलेर बनाएको साझा धारणा हो,” उनले भने, “यदि गगनजीहरूले साँच्चै त्यो आधिकारिक निर्णय गर्नुहुन्छ भने चुनदेवीमा भएका हामी नैतिक रूपमा पनि सबै विषय मान्न बाध्य हुन्छौँ ।”

महामन्त्री गुरुराज घिमिरेले असन्तुष्ट नेताहरूलाई मिलाउन तथा वरिष्ठ नेताहरूलाई समेत साथमा लिएर अघि बढ्न क्रियाशील सदस्यताको विषयमा निर्णय गरिएको बताए ।

शेखर पार्टी एकताको पक्षमा

सभापति थापासँगको भेटमा नेता शेखर कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेकाले कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेको बताएका थिए । उनले पार्टी मिलाउन आफ्नो तर्फबाट आवश्यक त्याग गर्न आफू तयार रहेको बताएका थिए ।

जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएका थिए ।

यसअघि आइतबार बिहान बद्री पाण्डे, जीवन परियार, गोविन्द पोखरेल र सरिता प्रसाईंसँग समेत कोइरालाले संवाद गरेका थिए । कोइरालाले आफू पार्टी मिलाउन सकारात्मक र आशावादी रहेको भन्दै नेताहरूलाई धेरै समस्या नमान्न आग्रह गरेको सहभागी एक नेताले बताए ।

शेखरले पार्टी मिलाउने सम्पूर्ण जिम्मेवारी सभापति थापाको भएको भन्दै पूर्वसभापति शेरबहादुर देउवालाई उचित स्थान दिएर सम्मानजनक बिदाइ गर्नुपर्ने धारणा राखेका थिए ।

पूर्णबहादुर खड्का समूह पनि सहमतितर्फ

असन्तुष्ट समूहले साउन अन्तिममा काठमाडौंको सुकेधारामा आयोजना गरेको भेलामा सहभागी नभएका पूर्णबहादुर खड्का समूह पनि सभापति थापासँगको संवादपछि उत्साहित देखिएको छ ।

विशेषगरी पुससम्म नवीकरण भएका क्रियाशील सदस्यलाई महाधिवेशनमा सहभागी गराउने र विभिन्न संयन्त्र निर्माण गर्ने विषयमा नेतृत्वले लचकता देखाएपछि खड्का समूह सहमतितर्फ अघि बढ्ने संकेत देखिएको हो ।

खड्का निकट नेता श्याम घिमिरेले कार्यसम्पादन समितिले आफूहरूको मुद्दा सम्बोधन गर्न थालेकाले सहमतिमा आउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताए ।

शनिबार सभापति थापासँगको भेटमा खड्काले आफू मात्र फर्किएर पार्टी एक नहुने भन्दै सबैलाई साथमा लिएर अघि बढ्ने वातावरण बनाउन आग्रह गरेका थिए ।

उनले केही समयअघि बुझाइएको सातबुँदे धारणा नै पार्टी एकताको आधार भएको भन्दै त्यसलाई कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

उक्त सातबुँदे धारणामा १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूको समायोजन गर्दै पार्टी केन्द्रीय समिति विस्तार तथा मर्यादाक्रम निर्माण गर्नुपर्ने विषय समेटिएको छ ।

त्यस्तै, विधान संशोधन मस्यौदा समिति, क्रियाशील सदस्यता व्यवस्थापन तथा छानबिन समिति, निर्वाचन समिति, अनुशासन समिति, लेखा समिति, व्यवस्थापन समिति र प्रचारप्रसार समितिलगायत संरचना गठन गर्दा दुवै पक्षको सहमतिमा सन्तुलन कायम गर्नुपर्ने माग गरिएको छ ।

पुस १० सम्म नवीकरण भएका क्रियाशील सदस्यलाई मान्यता दिने, डिजिटल इन्ट्रीलाई अनिवार्य नगर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाको गठन–पुनर्गठन सहमतिमा गर्ने र पार्टी एकता कायम गर्दै १५औँ महाधिवेशनको तयारी अघि बढाउने विषय पनि सातबुँदेमा समेटिएको छ ।

यीमध्ये अधिकांश विषयमा संस्थापन पक्ष लचिलो भएपछि खड्का समूहमाथि पनि सहमतिमा आउनुपर्ने दबाब बढेको देखिएको छ ।

देउवा समूहको अडान कायमै

शेखर र पूर्णबहादुर समूह सहमतिका लागि सकारात्मक देखिए पनि पूर्वसभापति शेरबहादुर देउवा निकट नेताहरू भने अझै आफ्नो अडानबाट पछि हटेका छैनन् ।

देउवानिकट नेता डा. प्रकाशशरण महतले शेरबहादुर देउवाको ‘ग्रेसफुल एक्जिट’ नै आफूहरूको मुख्य माग भएको बताए ।

उनका अनुसार १४औँ महाधिवेशन देउवाकै नेतृत्वमा सम्पन्न गरिनुपर्ने र त्यसपछि उनलाई सम्मानजनक रूपमा बिदाइ गर्नुपर्ने धारणा समूहको छ ।

“शेरबहादुरजीको नेतृत्वमा महाधिवेशन गर्दै ग्रेसफुल एक्जिट हुनुपर्छ । बाँकी अहिले भइरहेका काम प्राविधिक विषय मात्र हुन्,” महतले भने, “राजनीतिक सहमतिविना अघि बढ्न सकिन्न ।”

देउवा समूहका अन्य नेताहरूले पनि पूर्णबहादुर खड्का सहमतिमा आए भन्दैमा सबै नेता सहमतिमा जानुपर्ने बाध्यता नरहेको बताएका छन् ।

राजनीतिक संयन्त्रको क्षेत्राधिकारमा विवाद

पार्टी एकताका लागि सभापति थापा दुवै पक्षलाई समेटेर राजनीतिक संयन्त्र गठन गर्न तयार भएका छन् । उनले उक्त संयन्त्रको नेतृत्व लिन नेता शेखर कोइरालालाई समेत आग्रह गरेका छन् ।

तर, संयन्त्रको क्षेत्राधिकार कति हुने भन्ने विषयमा भने विवाद कायमै छ । संस्थापन पक्ष केन्द्रीय समितिभन्दा माथि वा समानान्तर हुने गरी संयन्त्र बनाउन तयार छैन ।

महामन्त्री गुरुराज घिमिरेले विधानले केन्द्रीय कार्यसमितिलाई सर्वोच्च मानेकाले संयन्त्रलाई केन्द्रीय समितिको मातहतमा मात्र राख्न सकिने बताए ।

“संयन्त्र बनाउन तयार छौँ । तर केन्द्रीय समितिको समानान्तर हुने गरी बनाउन सकिँदैन । यसलाई केन्द्रीय समितिको मातहत राख्न सकिन्छ,” उनले भने, “संयन्त्रलाई सहजीकरण संयन्त्र बनाउन सकिन्छ, पार्टीको नेतृत्व गर्ने संरचना होइन ।”

तर, असन्तुष्ट समूहका नेता प्रकाशशरण महतले अधिकारविहीन संयन्त्र आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् ।

“पहिले हामीले पावरफुल संयन्त्र बनाऔँ, सहमति गरौँ भन्दा मान्नुभएन । अहिले आएर पावरलेस संयन्त्र हामीलाई चाहिँदैन,” महतले भने, “एकताको महाधिवेशन गर्ने हो भने शेरबहादुरजीलाई मानेर जानुपर्छ । संयन्त्र पावरफुल बनाउने र केन्द्रीय समितिको मातहत राखेर सहमति हुँदैन ।”

यससँगै वडा अधिवेशनको नयाँ मिति, क्रियाशील सदस्यताको व्यवस्थापन, पूर्वसभापति देउवाको भूमिका तथा राजनीतिक संयन्त्रको क्षेत्राधिकारलाई लिएर कांग्रेसभित्रको आन्तरिक एकताको प्रयास निर्णायक चरणमा पुगेको छ ।

प्रतिक्रिया