रसुवामा भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, २ हजार ५६४ सम्पर्कविहीन
nepalkuro.com
१९ भदौ २०८३, शुक्रबार
रसुवा– भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा फसेका व्यक्तिको खोज तथा उद्धार कार्य तीव्र पारिएको छ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित चीन, भारत र कोरियाका विज्ञ टोलीले माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार कार्य गरिरहेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार सुरुङ क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिइएको छ।
बाढीका कारण मृत्यु भएकामध्ये १४० जनाको शव संकलन गरिएको छ। तीमध्ये १३४ वटा शव व्यवस्थापनका लागि नुवाकोट पठाइएको अधिकारीले जानकारी दिए।
बाढीपछि रसुवामा दुई हजार ५६४ जना सम्पर्कविहीन भएका छन्। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार हराइरहेकामा नेपाली सेनाको श्रीनाथ गणका २७, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरी बलका १३, सरकारी कर्मचारी ७९, बैंक तथा वित्तीय संस्थाका २६, रसुवाका नागरिक एक हजार २२६, अन्य जिल्लाका ८८२ र पर्यटक २४३ जना रहेका छन्।
सम्पर्कविहीन व्यक्तिको खोजी तथा सुरुङ क्षेत्रमा फसेकाको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै विदेशी विज्ञ टोलीसमेत परिचालन गरिएको छ।