इच्छाकामना र सहिद लखनलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग

nepalkuro.com

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको सहिद लखन गाउँपालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन्।

गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका बुर्लाकोटीले भोटेकोशी बाढीका कारण दुवै गाउँपालिकाका नदी तटीय क्षेत्र प्रभावित भएको भन्दै सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने बताएका हुन्।

चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाढीका कारण नदी किनारमा रहेका बस्ती, पर्यटकीय होटल तथा उद्योगमा क्षति पुगेको जानकारी दिए। भोटेकोशीबाट आएको बाढी त्रिशूली नदी हुँदै नारायणीमा मिसिएकाले इच्छाकामना र सहिद लखन गाउँपालिकाका विभिन्न क्षेत्र प्रभावित भएको उनको भनाइ छ।

बुर्लाकोटीले यस विषयमा सरकार र पार्टीमा आफूले कुरा राखिसकेको बताउँदै दुवै पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि प्रभावितलाई राज्यका तर्फबाट थप सम्बोधन गर्न सहज हुने बताए।

सरकारले यसअघि रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका, नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।

त्यस्तै, धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिकालाई समेत विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

बुर्लाकोटीले इच्छाकामना र सहिद लखनलाई समेत सूचीमा थप गर्दा राज्यको लगानी बढ्नुका साथै राहत, उद्धार तथा क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा सहयोग पुग्ने बताए। साथै गैरसरकारी सङ्घसंस्थालाई प्रभावित क्षेत्रमा काम गर्न समेत सहज हुने उनको भनाइ छ।

बाढी प्रभावित परिवारसँग भेटघाटका क्रममा चितवन हुँदै गोरखा पुगेका बुर्लाकोटीले प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर सक्रिय रहेको बताए।

उनले गोरखालगायत जिल्लाबाट संघीय राजधानी काठमाडौं जोड्ने कृष्णभीर सडकसहितका सडकको मर्मत तथा वैकल्पिक मार्ग निर्माणमा सरकारले तीव्र गतिमा काम गरिरहेको जानकारी दिँदै छिट्टै राजधानीसँगको यातायात सहज हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया