चीनबाट नेपाललाई आपत्कालीन राहत सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो

nepalkuro.com

काठमाडौं– चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो खेप काठमाडौं आइपुगेको छ।

मंगलबार दिउँसो चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२०ए ठूलो क्षमताको ढुवानी विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।

राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए।

चीनले यसपटक पठाएको राहत सामग्रीमा मुख्यतः उद्धारका लागि प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिलका स्थायी चुम्बकीय बाढी पम्प, अतिरिक्त ब्याट्री, शव राख्ने फ्रिजर तथा सौर्य ऊर्जाबाट चल्ने बत्ती रहेका छन्।

नेपालका तत्काल आवश्यकतालाई ध्यानमा राखेर राहत सामग्री छनोट गरिएको जनाइएको छ। यी सामग्रीले विपद् प्रभावित क्षेत्रमा जारी आपत्कालीन उद्धार तथा त्यसपछिका व्यवस्थापन कार्यमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया