संघीय संसदका दुई समितिको बैठक आज, पशु रोग विधेयक र पुस्तकालय नीति छलफलमा
nepalkuro.com
१० भदौ २०८३, बुधबार
काठमाडौँ – संघीय संसदअन्तर्गत रहेका दुईवटा समितिको बैठक आज बस्दैछ। विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा छुट्टाछुट्टै विषयमा छलफल हुने भएको छ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक–२०८३ माथि विज्ञ तथा सम्बन्धित सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ। उक्त बैठकमा पुस्तकालय नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको छ।
पुस्तकालय नीतिको मस्यौदामाथि राय–सुझाव संकलनका लागि विभिन्न पुस्तकालयका प्रमुख तथा प्रतिनिधिहरूलाई समेत छलफलमा आमन्त्रण गरिएको समितिले जनाएको छ।
दुवै समितिको बैठकले सम्बन्धित विधेयक तथा नीतिको मस्यौदालाई थप प्रभावकारी बनाउने विषयमा विज्ञ र सरोकारवालाको सुझाव लिने अपेक्षा गरिएको छ।