जेई संक्रमण बढेपछि झापा र कैलालीमा खोप अभियान सञ्चालन गरिने

nepalkuro.com

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि सरकारले झापा र कैलालीमा जेईविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीमा असोज १ गतेदेखि र झापामा असोज ५ गतेदेखि खोप अभियान सञ्चालन गरिनेछ। अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई जेईविरुद्धको खोप दिइनेछ।

खोप अभियानका लागि आवश्यक जेई खोप काठमाडौंस्थित केन्द्रीय खोप भण्डारण केन्द्रबाट सम्बन्धित जिल्लामा पठाउने तयारी भइरहेको छ। खोप उपलब्ध भएपछि स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लक्षित समूहलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल संक्रमण हो। संक्रमण गम्भीर अवस्थामा पुगेमा मस्तिष्कमा असर पार्नुका साथै मृत्यु समेत हुन सक्ने भएकाले जोखिम क्षेत्रमा खोप अभियानलाई प्रभावकारी बनाउने तयारी गरिएको हो। सरकारले संक्रमणको जोखिम न्यूनीकरण गर्न लक्षित उमेर समूहका नागरिकलाई समयमै खोप लगाउन र आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ।

प्रतिक्रिया