नयाँ सरकार गठन भएयता राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाहबीच औपचारिक संवाद शून्यजस्तै छ । शपथग्रहण समारोह र संवैधानिक अनिवार्यतासँग जोडिएका केही कार्यक्रममा बाहेक प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास गएका छैनन् ।
मन्त्रिपरिषद् विस्तार, मन्त्री नियुक्ति तथा हेरफेर, संसद् अधिवेशन आह्वान र स्थगनजस्ता महत्त्वपूर्ण निर्णय गर्दा प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर जानकारी गराउने अभ्यास थियो । तर प्रधानमन्त्री शाह यस्ता निर्णयबारे जानकारीका लागि शीतल निवास पुगेका छैनन् । पछिल्लो समयको तनावपूर्ण सुनसरी घटनाबारे समेत प्रधानमन्त्रीले नभई सत्तारूढ रास्वपाका सभापति रवि लामिछानेले बुधबार राष्ट्रपति पौडेललाई भेटेर जानकारी गराएका छन् ।शीतल निवासका एक अधिकारीले प्रधानमन्त्री संसद्प्रति मात्र होइन, राष्ट्रपतिप्रति पनि संवैधानिक रूपमा उत्तरदायी हुने व्यवस्था शाह सरकारको नेतृत्वमा आएपछि ‘ब्रेक’ लागेको बताए । उनका अनुसार देशभित्रको अवस्था, शान्तिसुरक्षा, अर्थतन्त्र, कूटनीतिक गतिविधि, मन्त्रिपरिषद्का निर्णय, संसद्मा आउने विधेयक र समग्र राष्ट्रिय वस्तुस्थितिबारे प्रधानमन्त्रीले आफैं उपस्थित भएर वा राष्ट्रपतिले जिज्ञासा राखेको अवस्थामा जानकारी गराउनुपर्छ ।