कपिलवस्तुमा लागुऔषधसम्बन्धी ११ मुद्दा, १९ जना पक्राउ

nepalkuro.com

कपिलवस्तु– जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २१ गतेसम्म लागुऔषधसम्बन्धी ११ मुद्दा दर्ता गरी १९ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सीमा नाकाबाट पैदल हिँडेर तथा शरीरमा लागुऔषध बाँधेर लैजाने क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा १३ पुरुष र छ महिला नेपाली नागरिक रहेका छन्।

सो अवधिमा प्रहरीले गाँजा, चरेस, हेरोइन, अफिम र नाइट्राभेट बरामद गरेको छ। प्रहरीले १३० ग्राम गाँजा, पाँच किलो २२५ ग्राम चरेस, तीन ग्राम १५० मिलिग्राम हेरोइन र १० किलो ३६४ ग्राम अफिम बरामद गरेको जनाएको छ।

त्यस्तै, नाइट्राभेटका १० थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रीपेन्द्रकुमार सिंहले जानकारी दिए।

उनका अनुसार लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइएको छ। पछिल्लो समय सीमा क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी थप कडा पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया