गुल्मीमा अवैध घरेलु हतियार बनाउने र बिक्री गर्ने आरोपमा तीन जना पक्राउ

nepalkuro.com

गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा बिक्री–वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

छत्रकोट–५, मानकोट भ्यूडाँडामा घरेलु हतियार निर्माण तथा बिक्री–वितरण भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा खटिएको टोलीले स्थानीय बुद्धिबहादुर कामी, झुमिला विक र प्रेमबहादुर सिँजालीलाई पक्राउ गरेको हो।

बुद्धिबहादुर कामीको घर तथा आरनमा खानतलासी गर्दा हतियार निर्माणमा प्रयोग हुने कच्चा पदार्थ, औजार तथा जङ्गली जनावरका हड्डी र छाला फेला परेको प्रहरीले जनाएको छ। झुमिला विकको घरमा रहेको आरनबाट एक थान भरुवा बन्दुक र बुद्धिबहादुरबाट बन्दुक खरिद गरेको भनिएका प्रेमबहादुर सिँजालीको घरगोठबाट थप एक थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

प्रहरीले उनीहरूबाट दुई थान भरुवा बन्दुक, फलामका बन्दुकका नाल ४२ थान, बन्दुकका कुन्जी/बट आठ थान, काठका बट पाँच थान, फलामका गोली–छर्रा २२१ थान, भरुवा बन्दुकका गोली तीन थान, बारुद तथा हतियारका विभिन्न पाटपुर्जा बरामद गरेको छ।

त्यस्तै, हतियार निर्माणमा प्रयोग हुने किटको आरनपङ्खा दुई थान, गेलेन्डर, ड्रिल र वेल्डिङ मेसिन एक–एक थान, भाइब्रेसन मेसिन दुई थान तथा आरी, बसुला, गिलास, पन्चकस, कैँची र हथौडालगायतका औजारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूको साथबाट जङ्गली जनावरका हड्डी तथा पाँच वटा छाला पनि बरामद भएको छ। पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धानका लागि कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रतिक्रिया