राहतभन्दा ‘कन्टेन्ट’को खोजीमा बाढी प्रभावित क्षेत्र पुगेका युट्युबरप्रति आलोचना

nepalkuro.com

काठमाडौँ — रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा पीडितको अवस्थालाई बुझ्ने नाममा विभिन्न प्रश्न सोध्दै भिडियो बनाउने युट्युबर तथा कन्टेन्ट क्रिएटरको गतिविधिप्रति आलोचना बढेको छ।

बाढीका कारण सर्वसाधारण दुःख र त्रासमा रहेका बेला केही युट्युबरले संवेदनशील अवस्थाका दृश्य खिचेर सामाजिक सञ्जालमा प्रसारण गर्ने तथा पीडितलाई लगातार प्रश्न गरेर हैरान पार्ने गरेको आरोप लागेको हो।

जेन–जी अभियन्ता माजिद अन्सारीले प्रभावित क्षेत्रमा पुगेर यस्ता गतिविधिप्रति असन्तुष्टि जनाएका छन्। उनले पीडितको अनुमति नलिई संवेदनशील दृश्य खिच्ने तथा सार्वजनिक गर्ने काम भइरहेको दाबी गरेका छन्।

अन्सारीले एक किशोरीले पटक–पटक भिडियो नखिच्न आग्रह गर्दागर्दै पनि उनको दृश्य खिचिएको प्रसंगसमेत सार्वजनिक गरेका छन्। उनले किशोरीको पहिचान नखुल्ने गरी उक्त घटनासँग सम्बन्धित भिडियोमार्फत यस्तो प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।

उनका अनुसार केही विदेशी पत्रकार तथा कन्टेन्ट क्रिएटरबाट समेत प्रभावित नागरिकलाई असहज हुने गरी भिडियो बनाउने काम भएको छ।

यसैबीच, युट्युबरहरूले लगातार प्रश्न गरेर हैरान पारेपछि एक बाढी प्रभावित महिलाले व्यङ्ग्यात्मक रूपमा ‘नौलो सिन’ भन्दै आफ्नै क्षतिग्रस्त घर र बगरको दृश्य खिच्न सुझाएको भिडियो सामाजिक सञ्जालमा चर्चामा आएको छ।

महिलाले युट्युबरलाई आफ्नै क्षतिग्रस्त घरको बार्दलीमा लगेर बाढीले पुर्‍याएको क्षतिको दृश्य देखाउँदै नयाँ र चर्चामा आउने दृश्यका रूपमा खिच्न सुझाव दिएको भिडियोमा देखिन्छ। उनको अभिव्यक्तिलाई पीडितले लगातारको प्रश्न र भिडियो खिच्ने व्यवहारप्रति गरेको व्यङ्ग्यका रूपमा धेरैले व्याख्या गरेका छन्।

विपद्को समयमा पीडितको निजता, सम्मान र मानसिक अवस्थालाई ध्यान नदिई ‘भ्युज’ र ‘कन्टेन्ट’का लागि संवेदनशील दृश्य खिच्ने प्रवृत्तिले मानवीय संवेदनामाथि प्रश्न उठाएको छ।

सञ्चारकर्मी तथा कन्टेन्ट क्रिएटरले विपद् प्रभावित क्षेत्रमा सामग्री तयार गर्दा पीडितको अनुमति, गोपनीयता र सम्मानलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। उद्धार तथा राहत कार्य भइरहेका क्षेत्रमा अनावश्यक भीड बढाउँदा उद्धारकर्मीको काममा समेत बाधा पुग्न सक्ने भएकाले सम्बन्धित निकायले घटनास्थलमा प्रवेश र भिडियो छायाङ्कनलाई व्यवस्थित गर्नुपर्ने आवाजसमेत उठ्न थालेको छ।

प्रतिक्रिया