रसुवा — भोटेकोशी बाढीका कारण सडक तथा पुल बगेर यातायात सम्पर्क प्रभावित भएपछि सरकारले रसुवाका दुर्गम बाढीपीडित बस्तीमा हेलिकप्टरमार्फत अत्यावश्यक खाद्य सामग्री पुर्याउन थालेको छ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार आज बिहान तीन वटा हेलिकप्टरमार्फत १५ क्विन्टल खाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। सडकमार्गबाट राहत पुर्याउन कठिन भएपछि हेलिकप्टरमार्फत नै थप सामग्री पठाउने तयारी गरिएको छ।
बाढीबाट मुख्य सडक तथा पुलमा क्षति पुगेपछि खैबी, डाँडागाउँ, हाकु, ठूलोगाउँ, शेर्पागाउँ, खाम्जिङलगायतका बस्तीमा दाल, चामल, नुन, तेललगायत दैनिक उपभोगका अत्यावश्यक सामग्री पठाइएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिमार्फत राहत वितरण भइरहेको छ। प्रभावितको आवश्यकता र प्राथमिकताका आधारमा आगामी दिनमा समेत खाद्यान्नलगायत आवश्यक सामग्री उपलब्ध गराइने उनले बताए।
उनका अनुसार उद्धार तथा राहत वितरणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन भइरहेका छन्। सरकारी संयन्त्र उद्धार र राहतपछि पुनर्निर्माण तथा पुनःस्थापनातर्फ अघि बढ्ने तयारीमा रहेकाले प्रभावित नागरिकलाई नआत्तिन प्रशासनले आग्रह गरेको छ।
भोटेकोशी बाढीपछि रसुवाका धेरै क्षेत्रमा सडक तथा पुलमा क्षति पुगेकाले कतिपय बस्ती अझै सडक सञ्जालबाट अलग छन्। यस्तो अवस्थामा हेलिकप्टरमार्फत राहत पुर्याउने सरकारी प्रयासले सम्पर्कविहीन तथा दुर्गम बस्तीमा खाद्यान्न अभाव हुन नदिन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।