भदौ २४ को घटनालाई लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

nepalkuro.com

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै सुरु भएको ‘जेन–जी’ आन्दोलनको एक वर्ष पुगेको अवसरमा भदौ २४ गते भएको विध्वंसलाई लोकतान्त्रिक इतिहासकै कालो दिनका रूपमा चित्रण गरेका छन्।

आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै संयोजक दाहालले युवाको जायज असन्तुष्टिलाई सम्बोधन गर्नुको साटो राज्यले दमनको नीति अपनाएकै कारण परिस्थिति उग्र बनेको बताएका छन्।

युवाको आवाज सम्बोधन गर्नुपर्नेमा राज्यले दमनको बाटो रोजेको र त्यसको फाइदा उठाउँदै घुसपैठिया तथा संदिग्ध तत्वहरूले आन्दोलनलाई अपहरण गरेको उनको आरोप छ। त्यसक्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत ऐतिहासिक धरोहरमाथि आगजनी तथा लुटपाट भएको उनले उल्लेख गरेका छन्।

आन्दोलनका क्रममा प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि लुटपाट र तोडफोड जारी रहनुले घटनाका पछाडि संगठित समूहको हात रहेको देखिने दाहालको भनाइ छ। उनले घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन्।

राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनलाई दराजमा थन्क्याएर नराखी तत्काल कार्यान्वयन गर्न तथा दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन उनले सरकारसँग जोडदार माग गरेका छन्।

आन्दोलनपछि गठन भएको नयाँ सरकारले संविधान संशोधनका नाममा संविधानको मूल आत्मा, समावेशिता, संघीय लोकतान्त्रिक गणतन्त्र तथा सामाजिक न्यायजस्ता ऐतिहासिक उपलब्धिलाई कमजोर पार्न खोजेको दाहालले आरोप लगाएका छन्।

“लोकतन्त्रका कमजोरीको उपचार लोकतन्त्र समाप्त गर्नु होइन, यसलाई अझ उत्तरदायी र पारदर्शी बनाउनु हो,” वक्तव्यमा भनिएको छ, “संविधानका आधारभूत मान्यतामा फेरबदल गर्ने वा निरंकुशताको बाटो खोल्ने कुनै पनि प्रयासको हाम्रो पार्टीले दृढतापूर्वक प्रतिवाद गर्नेछ।”

वर्तमान सरकारका कारण नागरिकहरू फेरि निराश बनेको, महँगी बढेको, अर्थतन्त्र शिथिल भएको तथा युवाहरू विदेशिन बाध्य भएको दाबी गर्दै दाहालले जनविरोधी प्रवृत्तिविरुद्ध सम्पूर्ण शान्ति र लोकतन्त्रप्रेमी शक्तिलाई एकताबद्ध हुन अपिल गरेका छन्।

प्रतिक्रिया