विकास बैंकहरूको औसत पुँजी पर्याप्तता १४.५७ प्रतिशत, खराब कर्जा ५.३७ प्रतिशत
nepalkuro.com
२५ भदौ २०८३, बिहिबार
काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३ सम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका विकास बैंकहरूको औसत पुँजी पर्याप्तता अनुपात १४.५७ प्रतिशत पुगेको छ।
सो अवधिमा विकास बैंकहरूको औसत खराब कर्जा ५.३७ प्रतिशत र औसत कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ८४.१० प्रतिशत कायम भएको छ। असार मसान्तसम्म सञ्चालनमा रहेका १६ वटा विकास बैंकको कुल पुँजी कोष ७९ अर्ब ८१ करोड २१ लाख रुपैयाँ र कुल प्राथमिक पुँजी ६४ अर्ब २६ करोड २९ लाख रुपैयाँ रहेको छ।
यस आधारमा विकास बैंकहरूको प्राथमिक पुँजी पर्याप्तता अनुपात ११.७३ प्रतिशत कायम भएको छ। बैंकगत रूपमा कर्पोरेट डेभलपमेन्ट बैंकको पुँजी पर्याप्तता अनुपात सबैभन्दा बढी ३९.७३ प्रतिशत रहेको छ। त्यस्तै सालपा विकास बैंकको ३२.६९ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको २९.४१ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको २५.७५ प्रतिशत रहेको छ।
अर्कोतर्फ सप्तकोशी डेभलपमेन्ट बैंकको पुँजी पर्याप्तता अनुपात ११.२९ प्रतिशत, सिन्धु विकास बैंकको १२.३६ प्रतिशत र मुक्तिनाथ विकास बैंकको १३.४७ प्रतिशत रहेको छ। समस्याग्रस्त बैंकको वर्गमा रहेको कर्णाली डेभलपमेन्ट बैंकको पुँजी पर्याप्तता अनुपात भने ऋणात्मक अर्थात् माइनस १४२.६३ प्रतिशत रहेको छ।
समीक्षा अवधिमा १६ वटा विकास बैंकले कुल ५ खर्ब ५१ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। ती बैंकहरूको औसत खराब कर्जा ५.३७ प्रतिशत रहेको छ। मितेरी डेभलपमेन्ट बैंकको खराब कर्जा सबैभन्दा कम ०.२६ प्रतिशत र सालपा विकास बैंकको ०.७९ प्रतिशत रहेको छ। ग्रिन डेभलपमेन्ट बैंकको ३.२२ प्रतिशत तथा कामना सेवा विकास बैंकको ३.७७ प्रतिशत खराब कर्जा रहेको छ।
त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको खराब कर्जा ७.६८ प्रतिशत, सिन्धु विकास बैंकको ७.६६ प्रतिशत, लुम्बिनी विकास बैंकको ६.९४ प्रतिशत र ज्योति विकास बैंकको ६.५५ प्रतिशत रहेको छ। नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा भने अत्यधिक ४८.५१ प्रतिशत पुगेको छ। कर्णाली डेभलपमेन्ट बैंकको खराब कर्जा ९७.४५ प्रतिशतसम्म पुगेको छ।
नेपाल राष्ट्र बैंकको निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा–निक्षेप अनुपात ९० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था छ। असार मसान्तसम्म विकास बैंकहरूको कुल निक्षेप ६ खर्ब ६१ अर्ब ९१ करोड १६ लाख रुपैयाँ र कुल कर्जा ५ खर्ब ५१ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ रहेको छ। यस आधारमा औसत सिडी रेसियो ८४.१० प्रतिशत कायम भएको हो।
बैंकगत रूपमा कामना सेवा विकास बैंकको सिडी रेसियो सबैभन्दा बढी ८७.३० प्रतिशत रहेको छ। लुम्बिनी विकास बैंकको ८६.६३ प्रतिशत, महालक्ष्मी विकास बैंकको ८६.५० प्रतिशत, गरिमा विकास बैंकको ८६.१४ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको ८५.२७ प्रतिशत रहेको छ।
अर्कोतर्फ नारायणी डेभलपमेन्ट बैंकको सिडी रेसियो ५०.६७ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ५७.३९ प्रतिशत, सालपा विकास बैंकको ६४.९३ प्रतिशत र सिन्धु विकास बैंकको ६७.११ प्रतिशत रहेको छ।