कृष्णभीरमा सडक भासिएपछि पश्चिम नेपालबाट काठमाडौंको यात्रा प्रभावित

nepalkuro.com

काठमाडौं– संघीय राजधानी काठमाडौंको ‘लाइफलाइन’ मानिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि नारायणी पश्चिम क्षेत्रबाट काठमाडौं हुने स्थल यातायात झण्डै ठप्प भएको छ।

नागढुंगा–मुग्लिन सडकअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि ठूला सवारीका लागि सडक पूर्णरूपमा बन्दजस्तै भएको हो। सीमित साना सवारीसाधन भने त्रिभुवन राजपथ र कान्तिलोकपथलगायत वैकल्पिक मार्ग हुँदै काठमाडौं आउने–जाने गरेका छन्। तर, बुटवल पश्चिमबाट काठमाडौंका लागि चल्ने ठूला यात्रुबाहक बस भने सञ्चालन हुन सकेका छैनन्।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलका अनुसार यात्रुको चाप र व्यवसायीको आम्दानी बढ्ने समयमा राजमार्ग अवरुद्ध हुँदा ठूलो संख्यामा सवारीसाधन थन्किएका छन्।

‘बुटवल, भैरहवा, कपिलवस्तु, गुल्मी, अर्घाखाँची हुँदै काठमाडौंका लागि दैनिक दिवा र रात्रि गरी झण्डै ४ सय गाडी छुट्थे,’ उनले भने, ‘अहिले हेटौंडा हुँदै दुई–चार वटा हाइस मात्र काठमाडौंका लागि गएका छन्।’

बुटवल, भैरहवा तथा अन्य जिल्लाबाट मात्र नभई नेपालगञ्ज, धनगढी, सुर्खेतलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानबाट समेत काठमाडौं जाने ठूला सवारी सञ्चालन हुन सकेका छैनन्। त्यसका कारण बसपार्क र सडक क्षेत्र सुनसान बनेका छन्।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक जीवनकुमार बञ्जाडेका अनुसार पश्चिम नेपालबाट काठमाडौं जाने र आउने गरी दैनिक करिब ८ सय सवारीसाधन प्रभावित भएका छन्।

‘बुटवल–भैरहवाबाट मात्रै काठमाडौंका लागि दिवा र रात्रि गरी ४ सय गाडी जान्थे। अहिले कुनै पनि गएका छैनन्,’ उनले भने, ‘पश्चिमबाट पनि यही बाटो भएर झण्डै ४ सय गाडी आउँथे। ती पनि जान सकेका छैनन्। वैकल्पिक बाटोबाट दुई–चार वटा मात्र हेटौंडा हुँदै गएका छन्।’

६५ मिटर सडक भासियो

गत भदौ १० गते रसुवाको भोटेकोशी नदी हुँदै त्रिशूलीमा आएको ठूलो बाढीका कारण कृष्णभीरमा करिब ६५ मिटर सडक भासिएर त्रिशूली नदीतर्फ पुगेको हो।

अहिले सडक भासिएको स्थानमा भीर काटेर वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको छ। तर, राजमार्ग पूर्णरूपमा कहिलेसम्म सञ्चालनमा आउँछ भन्ने यकिन भइसकेको छैन।

सडक अवरुद्ध भएपछि त्रिभुवन राजपथ र कान्तिलोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरी सीमित साना सवारी सञ्चालन भइरहेका छन्।

पर्यटकीय क्षेत्रमा समेत असर

भोटेकोशीमा आएको बाढी र कृष्णभीरमा सडक भासिएपछि पश्चिम नेपालका पर्यटकीय क्षेत्रमा समेत पर्यटकको चहलपहल घटेको व्यवसायीहरूले बताएका छन्।

लुम्बिनीमा पर्यटक घुमफिरका लागि प्रत्यक्ष समस्या नभए पनि विपद्का कारण पर्यटकको संख्या निकै घटेको छ। अक्टोबर र नोभेम्बरका लागि बुकिङ भएका होटलका कोठासमेत धमाधम रद्द हुन थालेको व्यवसायीहरूको भनाइ छ।

त्यस्तै, बेलहिया–सुनौली हुँदै पोखरा र मुक्तिनाथ जाने भारतीय पर्यटकको संख्यामा पनि भोटेकोशी बाढी र कृष्णभीरको पहिरोका कारण कमी आएको बताइएको छ।

हवाई यात्रु बढे

स्थलमार्ग अवरुद्ध भएपछि भैरहवा र नेपालगञ्जबाट काठमाडौं जाने हवाई यात्रुको संख्या भने बढेको छ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको विमानस्थलले जनाएको छ। विमानस्थलका अनुसार तीन–चार दिनअघि बुकिङ नगरे काठमाडौं जाने हवाई टिकट पाउनसमेत कठिन हुने अवस्था छ।

प्रतिक्रिया